नेकपा एमालेले पार्टी राजनीतिमा ७० वर्षे उमेरहदको व्यवस्था ल्याएपछि यसबारे ठूलो विवाद हुँदै आएको छ । विश्वका कुनै पनि कम्युनिष्ट पार्टी र राजनीतिमा नदेखिएको यो व्यवस्था एमालेले लागू गरेको हो, जसका कारण केही नेताहरु ७० वर्ष उमेर पुगेका कारण अवकाश हुन बाध्य भएका छन् भने केही अवकाश हुने संघारमा पुगेका छन् । अमेरिकामै हेर्ने हो भने राष्ट्रपति जो बाइडेन ८० वर्ष पार गरिसकेका छन् । चीनका राष्ट्रपति सी चिनफिङ वा भारतका नरेन्द्र मोदी, यी सबै नेताहरु पनि धेरै उमेरका छन् । तर, पनि ती देशको राजनीतिमा उमेरहदको व्यवस्था गरिएको छैन । नेपालमै पनि अन्य कुनै पनि दलले उमेरहदलाई लागू गराएका छैनन् ।
त्यसैले पनि एमालेले ल्याएको यो व्यवस्था विश्व कम्युनिस्ट आन्दोलन, विश्व राजनीति, देशविदेशको समसामयिक राजनीतिक व्यवस्था विपरीत छ । यसरी कसैलाई पनि राजनीतिमा निषेध गर्ने एमालेले ल्याएको यो व्यवस्था नेपालको संविधानको प्रतिकूल पनि छ । त्यसकारण पनि एमालेले ल्याएको यो व्यवस्थाको अहिले आलोचना भइरहेको हो । यो व्यवस्थाले ७० वर्ष पुग्ने व्यक्ति पार्टीको कमिटिबाट अनिवार्य निष्कासित हुने अवस्था आउको छ । यसले हरेक कमिटिमा अनुभव प्राप्त व्यक्ति नरहँदा पार्टीलाई झनै नोक्सान हुने देखिएको छ ।
अर्कोतर्फ राजनीति उमेर मात्र हो कि नैतिकता, कार्यक्षमता, दक्षता पनि हो भन्ने विषयमा यो प्रावधानबाट सोच्नुपर्ने बेला भएको छ । यदि कुनै युवा नेता छ, तर ऊ हरेक कोणबाट भ्रष्ट, अनैतिक छ भने उसलाई किन अवसर दिने ? यदि युवा नै छ तर नेतृत्व, कार्यक्षमता, दक्षताका हिसाबले कमजोर छ भने उसलाई अघि बढाउने कि नबढाउने ? यस विषयमा पनि विमर्श हुन जरुरी छ । उमेर भएका तर यदि युवाको जस्तो जोश जाँगर भएको, नेतृत्व लिन सक्ने, अनुभवी र कार्यक्षमताका हिसाबले पनि उपयुक्र छ भने उमेर भएका नेतालाई उमेर हदको ‘डण्डा’ लगाइनु कुनै पनि हिसाबले उचित मान्न सकिँदैन ।
एमालेकै अहिलेको व्यवस्थाले पार्टीका बेदाग र इमानदार भएका केही नेताहरुले अवकाश पाउने भएका छन् । यस्ता नेताहरुमा अमृत बोहोरा, केशव बडाल, युवराज ज्ञवालीलगायत छन् । उनीहरुलाई ७० वर्षे प्रावधानअनुसार किनारा लगाउनुपर्ने अवस्था निम्त्यिएको छ । हालका एमाले अध्यक्ष केपी शर्मा ओली पनि ७२ वर्ष पुगिसकेका छन् । यदि यही प्रावधान रहेमा उनी पनि आगामी महाधिवेशनमा अध्यक्षको दाबेदार नरहने मात्र होइनन्, राजनीतिबाट नै संन्यास लिनुपर्ने अवस्थामा आइपुगेका छन् । यदि कुनै नेता ७० वर्ष उमेर पुगिसकेको छ, तर उसले देश र पार्टी राजनीतिका लागि अझै योगदान दिन सक्छ भने उसलाई अवसर दिनु न्यायसंगत हुनेछ । यस्तै, युवा नेता जो राम्रो सम्भावनाका छन् भने उनीहरुलाई पनि अघि बढाउनुपर्छ । धेरै उमेर होस् वा कम, तर यदि त्यो नेतृत्व भ्रष्ट, अनैतिक गतिविधिमा संलग्न र कार्यक्षमताको दृष्टिकोणले कमजोर छ भने उनीहरुको तुलनामा राम्रो गर्न सक्ने नेतृत्वलाई अघि बढाउनुपर्छ । देश र जनताको हितलाई सर्वोपरि गर्ने नेतालाई अघि बढाउन आवश्यक छ, त्यसमा उमेरलाई हेर्नु तर्कसम्मत मान्न सकिँदैन । आगे कमरेडहरुलाई चेतना भया ! जनधारणा साप्ताहिकबाट