प्रेस सेन्टर नेपालले आज प्रधानमन्त्रीसहित राज्यकाे तिनै तहका प्रमुखहरूलाई देशैभर ध्यानाकर्षण पत्र बुझाउँदैछ ।
जनपक्षिय पत्रकारिता, प्रेस स्वतन्त्रता र परिवर्तनको पक्षमा क्रियाशील प्रेस सेन्टर नेपालले भर्खरै सम्पन्न १९ साधारणसभाकाे निर्णय अनुसार नै आज देशैभर सरकार प्रमुखहरूलाई ध्यानाकर्षण पत्र बुझाउन लागेकाे प्रेस सेन्टरका महासचिव सन्ताेष पाैडेलले जानकारी दिनुभयाे ।
महासचिव पाैडेलका अनुसार केन्द्र वा संघमा केन्द्रीय समितिकाे तर्फबाट सम्माननिय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सञ्चार सूचना तथा प्रविधिमन्त्री रेखा शर्मालाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ भने प्रदेशहरूमा प्रदेश समितिले मुख्यमन्त्रीलाई, जिल्ला समितिले सिडिओलाई र स्थानिय पालिका समितिले पालिका अध्यक्ष वा नगरप्रमुखलाई ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम छ ।
ध्यानाकर्षण पत्रमा सरकारले लिएका जनपक्षीय निर्णय र कदमप्रति एक्यवद्वतासहित, प्रेस स्वतन्त्रता, न्युनतम पारिश्रमिक वृद्वि, पत्रकारका समस्याहरू, समानुपातिक विज्ञापन लागू गर्ने र शान्ति प्रक्रिया लगायतका विषयहरू समेटिएको महासचिव पाैडेलले जानकारी दिनुभएको छ ।
प्रधानमन्त्रीलाई विहान ७ बजे सरकारी निवास बालुवाटारमा ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम तय भएको छ भने अन्य प्रदेश, जिल्ला र स्थानीय तहमा आज ११ बजे ध्यानाकर्षण पत्र बुझाइनेछ ।