लिभरपुलका पूर्व स्टार स्टेभन जेरार्डपनि साउदी आउने पक्का भएको छ। गत वर्ष एस्टन भिल्लाले प्रशिक्षक जेरार्डलाई बर्खास्त गरेयता उनी जागिर बिहीन रहेका थिए। ४३ वर्षीय जेराड अन्तत नयाँ रोजगारीका लागि साउदी आउने पक्का भएको जनाइएको छ।
जेराडलाई साउदी क्लब अल-इतिफाकले प्रशिक्षकको रुपमा क्लबमा भित्राउन लागेको हो। क्लबले उनलाई नयाँ म्यानेजरका रुपमा अनुबन्धन गर्ने अन्तिम तयारी गरिरहेको छ। उनलाई गत अक्टोबरमा टिमको खराब प्रदर्शन पछि एस्टन भिल्लाले वर्खास्त गरेको थियो।
डेलीमेलले पत्रकार रोमानी मोलिनालाई उदृत गर्दै उनी क्लब समाल्नका लागि साउदी पुगिसकेको जनाएका छन्। उनी क्लबसँग केही समय अघि देखी सम्पर्कमा रहेका थिए र अब उनी सम्झौता नजिक पुगेका हुन्। अल-इतिफाकले १६ क्लब मध्ये गत सिजन सातौं स्थानमा रहेर लिगको अन्त गरेको थियो। अल नासरमा रोनाल्डो अनुबन्धन भएयता अर्को चर्चित नामका रुपमा जेराड रहने छन्।
यसै सिजन करिम बेन्जामा रियल म्याड्रिड छोड्दै अल-इतिहादमा अनुबन्धन हुँदा चेल्सीका मिडफिल्डर एनगोलो कान्टे पनि साउदी क्लबमा जान लागेका छन्। अल-हिलालले पनि लियोनेल मेसीलाई ल्याउनका लागि प्रयास गरेपनि सफल हुन सकेको थिएन। उसले अहिले अर्का स्टार नेमारलाई क्लबमा ल्याउन प्रयास गरिरहेको जनाइएको छ।