काठमाडौँ / अस्ट्रेलियाको न्यु साउथ वेल्सको हन्टर भ्यालीस्थित विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । साथै १५ जना यात्रु घाइते भएका छन् ।
विवाह समारोह सम्पन्न गरी फर्कने क्रममा स्थानीय समय अनुसार आइतबार राति साढे ११ बजे ग्रेटा सहर नजिकै बस दुर्घटना भएको बताइएको छ । दुर्घटनापछि बसका ५८ वर्षीय चालकलाई पक्राउ गरेको छ ।
तर दुर्घटनामा मृत्यु हुनेहरू सबैको पहिचान भइसकेको छैन । बीबीसीको समाचार अनुसार नवदम्पत्ति भने बसमा थिएनन् । प्रहरी नियन्त्रणमा रहेका बस चालकलाई खतरनाक दुर्घटना गराएको भन्दै मंगलबार अदालत उपस्थित गराइने प्रहरीले जनाएको छ ।
यसैबीच दुर्घटनास्थल र आसपासका क्षेत्रमा दुर्घटनाको समयमा बाक्लो हुस्सु रहेको थियो । अस्ट्रेलियन प्रधानमन्त्री एन्थोनी अल्बानेसले भने यस घटनालाई ‘क्रुर, दुखद् र अन्यायपूर्ण’ भएको टिप्पणी गरेका छन् ।
स्थानीय अधिकारीहरूका अनुसार विवाहमा निम्तालुहरूका लागि उक्त बस भाडामा लिइएको थियो । दुर्घटनाका केही घाइतेहरूलाई जोन हन्टर अस्पतालमा र धेरैजसोलाई सिड्नी लगिएको छ ।
न्यु साउथ वेल्सको हन्टर उपत्याका विभिन्न फलफूलबाट बनाइने वाइनका लागि प्रख्यात छ । जहाँ वाइन पारखीहरू वाइन पिउन तथा रमाइलो गर्न जाने गर्छन् ।