काठमाडौँ / काठमाडौं महानगरपालिले दर्ता नगरी सञ्चालनमा रहेका स्वास्थ्य संस्था तथा अस्पतालहरू बन्द गराउन थालेको छ । स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा कानुनी प्रक्रिया र मापदण्ड नै पूरा नगरी लापरबाही हुन थालेपछि महानगरले कडाइ गरेको हो ।
सोमबार मात्रै महानगरले बौद्ध र जडिबुटीमा रहेका दुईवटा अस्पताल सिल गरेको छ । बौद्धमा रहेको चाइनिज पिपुल्स अस्पताल र जडिबुटीको सहयात्री हस्पिटल एन्ड बर्थिङ सेन्टरमा महानगरले ताला लगाइदिएको छ ।
दुई साताअघि महानगरका मेयर बालेन्द्र शाहले आफ्नो कार्यक्षेत्रभित्र पर्ने अस्पताललगायत स्वास्थ्य संस्थाहरूले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड, २०७७ र प्रचलित स्वास्थ्यसम्बन्धी कानुनअनुसार विपन्न एवं लक्षित वर्गहरूलाई दिनुपर्ने १० प्रतिशत निःशुल्क उपचार सेवा उपलब्ध नगराउने अस्पतालहरूलाई कारबाही गर्ने चेतावनी दिएका थिए ।
बालेन्द्रले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलाई भेटेर नै सुविधा नदिने अस्पतालहरूको विवरण उपलब्ध गराउँदै कारबाही गर्न आग्रह गरेका थिए । मन्त्री बस्नेतसँगको भेटमा उनले छुट सुविधासम्बन्धी विवरण उपलब्ध नगराउने ६८ स्वास्थ्य संस्थाहरूको विवरण उपलब्ध गराउँदै कारबाही प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए । मन्त्रालयले अनुगमन नगरेपछि महानगरले नियमन र कारबाही प्रक्रिया अगाडि बढाउन थालेको हो ।
स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद पौडेलले लाइसेन्स नै नलिइकन गैरकानुनी रुपमा ती अस्पताल सञ्चालन भएको थाहा पाएपछि बन्द गराइएको बताए । ती अस्पतालमा सरसफाईको गुणस्तर कायम नभएको, पर्याप्त पार्किङ नभएको, नागरिक बडापत्र नराखिएको, शय्या व्यवस्थापनको गुणस्तर नै कायम थिएन । पौडेलले भने, ‘एक त यी अस्पतालहरू दर्ता नै नगरीकन सञ्चालनमा रहेछन् । स्वास्थ्यसम्बन्धी मापदण्डको कुनै पालना नै नगरेको पाइयो ।’ यी दुवै अस्पताल १५ शय्याका हुन् ।
जडिबुटीको सहयात्री हस्पिटलको गुणस्तर धेरै नै कमजोर बनाएर सञ्चालन गरेको अवस्थामा अनुगमन टोलीले पाएको थियो । सरसफाइमा कमजोरीका साथै शय्या व्यवस्थापन र गुणस्तरसमेत नपाइएको पौडेलले बताए । उक्त अस्पतालले स्वास्थ्यसम्बन्धी दिइने उपचारको सामान्य गुणस्तर पनि कायम राख्न नसेको पौडेलको भनाइ छ ।
बौद्धमा रहेको चाइनिज पिपुल्स अस्पतालको अवस्था पनि त्यस्तै रहेको पाइएको थियो । १६ जना विशेषज्ञ चिकित्सकको सेवा भनेर प्रचार गरेको तर अस्पताल अनुगमनका क्रममा १ जना मात्रै चिकित्सक भेटिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । ‘चाइनिज पिपुल्सले १६ जना विशेषज्ञ चिकित्सको नियमित सेवा भनेकोमा एक जना मात्रै थिए,’ पौडेलले कान्तिपुरसित भने ।
काठमाडौं महानगरपालिकाले स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि, २०७७ ल्याएको छ । यस्तै, केन्द्र सरकारले २०७७ सालमा ल्याएको जनस्वास्थ्य सेवा नियमावली र स्वास्थ्य सेवा सञ्चालन मापदण्ड हाल कार्यान्वयनमा छन् । यी कानुनी प्रावधानहरू पूरा नगरी अस्पताल तथा स्वास्थ्य संस्था सञ्चालन भएपछि महानगरले अनुगमनलाई जोड दिएको हो । नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे भन्छन्, ‘हामीले अनुगमन पहिल्यैदेखि नै गरेका छौं । मापदण्ड पूरा नगरी सञ्चालनमा रहेका अस्पतालहरूको सूचना लिँदै बन्द गराउँछौं ।’ उनले सबै स्वास्थ्य संस्थाहरूलाई कानुनी मापदण्ड र प्रावधान पूरा गर्न पनि आग्रह गरे ।
स्वास्थ्य संस्थाको विवरण संकलन हुँदै
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका अस्पताल तथा स्वास्थ्य संस्थाहरूको विवरण पनि संकलन गर्न थालेको छ । एउटा सामान्य कोठामा स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थादेखि अस्पतालहरूसम्मको विवरण संकलन भइरहेको हो । प्रारम्भिक विवरण अनुसार अधिकांश स्वास्थ्य संस्थाहरू दर्ताबिना नै सञ्चालनमा छन् । सबै वडाबाट ९० प्रतिशत जति तथ्यांक संकलन भएको र तीनलाई अनलाइन सिस्टममा राख्ने तयारी भइरहेको पौडेलले बताए ।
‘महानगरपालिकाभित्र मात्रै १२ सयवटा स्वास्थ्य संस्था छन् तर १ सय ५२ वटा मात्रै दर्ता गराउनका लागि भनेर निवेदन आएको छ,’ पौडेलले भने ।
मुलुकको राजधानी सहरमा जथाभावी रूपमा पोलिक्लिनिक तथा स्वास्थ्य ल्याबहरू पनि जथाभावी रुपमा सञ्चालन भइरहेको छ । गत जेठ १९ गतेको मन्त्रिपरिषद् निर्णयले स्थानीय तहलाई पनि पोलिक्लिनिकहरूको अनुगमन गर्न दिने निर्णय भएको पौडेलले जानकारी दिए ।
काठमाडौंमा सरकारी अस्पतालको पनि अवस्था अस्तव्यस्त नै छ । पौडेल भन्छन्, ‘अस्पताल‚ अस्पतालजस्तो हुनुपर्छ । बिरामीले उपचार पाउनुपर्छ लक्षित वर्ग सबैले पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’
स्वास्थ्य मापदण्ड उल्लंघन गरेको संस्थामा काम गर्ने चिकित्सकमाथि नै प्रश्न
यसैबीच काठमाडौं महानगरपालिकाले न्यूनतम स्वास्थ्य मापदण्ड पूरा नगरेको अस्पताल तथा स्वास्थ्य संस्थामा काम गर्न जाँदा चिकित्सकहरूले पनि व्यावसायिक मूल्य र मान्यता ख्याल गर्न आग्रह गरेको छ । दर्ता नभएको र सरसफाइ ख्याल नगर्ने अस्पताल तथा स्वस्थ्य संस्थाहरूमा काम गर्न जाँदा चिकित्सकहरूमाथि नै नैतिक प्रश्न खडा हुने महानगरका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद पौडेले बताए । ‘यो त चिकित्सकहरूलाई पनि गम्भीर प्रश्न हो नि,’ पौडेलले कान्तिपुरसित भने, ‘दर्ता नभएको अस्पतालमा डाक्टरहरूले सेवा दिँदा के हुन्छ भन्ने कुरा ख्याल गर्नुपर्छ । प्रोफेसनल इथिक्स पनि बुझ्नुपर्छ ।’