दुई दलबीच एकता नहुनुमा बाबुरामभन्दापनि प्रचण्ड कारक बनेको ती नेताहरुको भनाई छ । समाजवादी केन्द्र बनाएर जाँदा पार्टीको नामको जस पनि बाबुरामले लिने र नयाँ साथीहरु मोर्चाबन्दी हुँदा आफू कमजोर हुने प्रचण्डको बुझाई छ । प्रचण्ड अहिले सरकारको नेतृत्वमा रहेकोले शक्ति आर्जनमा बढि सक्रिय छन् । उनी बरु पूराना माओवादी विचार धारा बोकेकाहरुलाई गोलबद्ध बनाउन केन्द्रित भएका छन् ।
यो बीचमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेसपाबीच मोर्चाबन्दीको पनि कुरा आएको थियो । तर, यसको लागि पनि प्रधानमन्त्री दाहालले नै वास्ता नगरेपछि चार दलबीच मोर्चाबन्दीको गृहकार्य पनि त्यतिकै रोकिएको छ । प्रधानमन्त्री दाहाल हालै भारत भ्रमण गरेर फर्किएका छन् ।
प्रधानमन्त्री दाहाल भारत भ्रमणमा रहँदा उज्जैनको महाकालेश्वर मन्दिरको दर्शन गर्न गेरु वस्त्र लगाएर पुगेका थिए । त्यतिवेला बाबुरामले आफ्ना पूराना सहकर्मी प्रचण्डको उक्त कार्यशैलीको आलोचना गरेका थिए । उनले प्रचण्डको उक्त गेरुवस्त्रको फोटो सेयर गरेर ‘हामी कता जाँदैछौं ?’ भनेर लेखेका थिए । प्रचण्ड नेपाल आएपछि गत शनिबार पशुपतिनाथ मन्दिरको दर्शन गर्न आफ्ना क्याविनेटका चार मन्त्रीहरु लिएर पुगेका थिए ।
त्यसमा पनि बाबुरामले आलोचना गरेका थिए । अहिले बाबुरामले प्रधानमन्त्री दाहालको सार्वजनिक रुपमै आलोचना गर्न थालेका छन् । यसले पनि दुई नेताबीच सुमधुर सम्बन्ध नभएको देखाउँछ । र, अहिले दुई नेताबीच भेटवार्ता नभएको पनि धेरै नै भएको बताईएको छ ।
विप्लव फकाउँदै महरा
माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा यतिवेला नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पार्टीमा स्वागत गर्ने तयारीमा छन् । दुई नेताबीच अहिले बाक्लो भेटवार्ता जारी छ । विप्लव काठमाडौं आएका बेला महराको खुमलटारस्थित् निवासमा पुग्ने गरेको र महरा कपिलवस्तु पुग्दा विप्लवको निवासमा बस्ने गरेका समाचार आएका छन् ।
विप्लवलाई पार्टीमा भित्र्याउनको लागि अध्यक्ष प्रचण्डले नै महरालाई जिम्मेवारी दिएको चर्चा छ । विप्लव पनि पछिल्लो समय प्रचण्ड र माओवादीप्रति नरम सुनिन्छन् । जनयुद्ध र नेतृत्व प्रचण्डप्रति सार्वजनिक रुपमै प्रतिरक्षामा उत्रिने पूर्व माओवादी नेताहरुमध्ये विप्लव अग्रपँक्तिमा आउँछन् । विप्लवलाई माओवादीमा भित्र्याउने तयारी गरेको थाहा पाएपछि बाबुराम प्रचण्डसँग टाढिएको पनि चर्चा छ ।