काठमाडौँ / भैरहवास्थित गौतब बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमले पहिलोपटक मलेसिया–भैरहवा–काठमाडौं व्यवसायिक उडान गर्ने निश्चित भएको छ ।
निगमका अध्यक्ष युवराज अधिकारीले भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार बिहान साढे ७ बजे निगमको १ सय ५८ सिट क्षमताको न्यरोबडी मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवा अवतरण भई काठमाडौं आउने बताए ।
‘सय हाराहारी यात्रु मलेसियाबाट नेपाल आउने अपेक्षा छ,’ अध्यक्ष अधिकारीले भने, ‘तीमध्ये मलेसियाका पर्यटन व्यवसायीहरुसहित ८/१० जना भैरहवामा अवतरण गर्ने यात्रु छन् । बाँकी काठमाडौं ओर्लने छन् ।’ निगमले गरेको पहिलो भैरहवा उडानमा निम्त्याइएका मलेसियाका पर्यटन व्यवसायीहरु भने भैरहवामा अवतरण भएपछि लुम्बिनी भम्रण गरी काठमाडौं आएर मलेसिया फर्किने छन् ।
निगमका सहप्रवक्ता गणेश घिमिरेका अनुसार, निगमले जेठ पहिलो साता मलेसिया–भैरहवा उडानको घोषणा गर्दै सुरुमा मलेसिया–भैरहवाका लागि प्रवर्द्धनात्मक हवाई भाडा ११ हजार रुपैयाँ घोषणा गरेको थियो । ‘शुरुमा प्रवर्द्धनात्मक एकतर्फी भाडा ११ हजार रुपैयाँ थियो । अहिले मलेसिया–भैरहवा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार रुपैयाँ दरमा एकतर्फी टिकट बिक्री गरिरहेका छौं,’ सहप्रवक्ता घिमिरेले भने ।
मलेसियाबाट भैरहवाको उडान समय ४:४५ मिनेट हाराहारी रहनेछ । भैरहवामा यात्रु ओरालेर निगमको जहाज त्यहाँबाट काठमाडौं आउने छ । न्यारोबडी विमानका लागि भैरहवाबाट काठमाडौं उडान समय २५ मिनेट हाराहारी लाग्छ ।
०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको कम्तीमा १० अर्ब रुपैयाँ लगानीमा बनेको मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा नेपाल वायुसेवा निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरे पनि त्यहा व्यवसायिक उडान गर्नेमा कुबेतको जजिरा एयरलायन्स मात्रै थियो । जजिरापछि नेपाली लगानीकर्तासमेत रहेको हिमालय एयरलायन्सले कात्तिकमा मलेसिया चार्टर उडान गरेको थियो । हाल यी दुबै वायुसेवाले नियमित तथा चार्टर उडानलाई निरन्तरता दिएका छैनन् ।
यसैबीच भैरहवामा व्यवसायिक उडान गर्न राष्ट्रिय ध्वजावाहक निगम पुगेको छ । यसले यात्रुको चाप वृद्धि भए नियमित उडानलाई निरन्तरता दिने भनेको छ ।
भैरहवा विमानस्थलका महाप्रवन्धक हंशराज पाण्डेका अनुसार, निगमले मलेसियाबाट भैरहवा हुँदै काठमाडौंका लागि गर्ने उडानलाई ‘टर्न–अराउड’ उडान भनिन्छ । यस्तो उडानमा जहाजले यात्रु ओरालेर फर्किहाल्छ गर्छ । त्यहाँबाट यात्रु राख्न पनि पाइँदैन । साथै चालकदलका सदस्यहरु पनि हेरफेर हुँदैनन् । न त इन्धन नै भरिन्छ ।