दाङ । लुम्बिनी प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथि तीन दिन संसदमा छलफल हुने भएको छ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले दोस्रो अधिवेसनको आइतबार बसेको छैठौँ बैठकमा वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न तीन दिन बैठक बस्ने जानकारी गराएका छन्।
जेठ २९, ३० र ३१ गते नीति तथा कार्यक्रममाथी छलफल हुनेछ। नीति तथा कार्यक्रममाथी उठेका प्रश्नको जवाफसमेत दिनेगरी तयारी गरिएको छ।
प्रदेश प्रमुख अमिक शेरचनले जेठ २६ गते प्रदेश सभाको दोस्रो अधिवेसनको पाँचौँ बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।
सो नीति तथा कार्यक्रमको धन्यवादको प्रस्ताव छैठौँ बैठकले सर्वसम्मतले पारित गरेको छ। धन्यवाद ज्ञापनको प्रस्तावकमा नेकपा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा र समर्थकमा नेपाली कांग्रेसका प्रमुख सचेतक जन्यमजय तिमिल्सिना रहेका थिए।