कावासोती। पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरप्रमुखको कार्यकक्षमा लगाइएको ताला दशौं दिन पुग्दासम्म पनि खुल्न सकेको छैन । नगरप्रमुखको कार्यकक्षमा लगाइएको ताला नखुल्दा दैनिक काम प्रभावित भएको हो ।
कावासोती नगरपालिकाभित्र माध्यमिक तहसम्म निःशुल्क शिक्षाको माग राख्दै नेविसंघले नगर प्रमुखको कार्यकक्ष र शिक्षा शाखामा ताला लगाएको नेविसंघका जिल्ला अध्यक्ष हरि सुवेदीको भनाइ छ ।
शैक्षिक सुधारका लागि पटकपटक ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराउँदा समेत नगरपालिकाले चासो नदिएपछि कावासोती नगर प्रमुखको कार्यकक्ष र शिक्षा शाखामा गत शुक्रबार तालाबन्दी गरेको अध्यक्ष सुवेदीले बताउनुभयो । त्यसअघि उनीहरूले नगरपालिकामा धर्ना समेत दिएका थिए । निःशुल्क शिक्षा, संस्थागत विद्यालयमा बर्सेनि भर्ना र अतिरिक्त शुल्क वृद्धि गर्न नपाइने, संस्थागत विद्यालयमा बर्सेनि पाठ्यपुस्तक परिवर्तन गरेर नगरपालिकाले कमिसन खाने परिपाटीको अन्त्य हुनुपर्ने र विद्यालयको शुल्क बन्द हुनुपर्ने लगायतका माग अघि सारेको अध्यक्ष सुवेदी बताउनुहुन्छ ।
वार्तामा बस्नका लागि पटकपटक समय माग्दा पनि नगरप्रमुखले बेवास्ता गरेको नेविसंघको आरोप छ । कावासोतीका नगरप्रमुख विष्णुप्रसाद भुसालले नगरपालिकाभित्र पुरै निःशुल्क शिक्षा गर्न आर्थिक रूपले थेग्न नसकिने भएकाले तत्काल पूर्ति गर्न नसकिने बताउनुभयो ।
निःशुल्क शिक्षा गर्दा वार्षिक २२ करोड थप व्यय भार बढ्ने भएकाले तत्काल त्यो माग पुरा गर्न नसकिने तर सम्भव हुने विषय चरणबद्ध रूपमा पुरा गर्दै जाने उहाँको भनाइ छ । निःशुल्क पुस्तक र खाजाको व्यवस्था गरिँदै आएको र निःशुल्क शिक्षाका लागि क्रमशः प्राथमिकतामा राख्दै जान सकिने उहाँले बताउनुभयो ।
कावासोती नगरपालिकामा शिक्षाको वार्षिक बजेट हाल ४२ करोड रहेको छ । त्यसमा एकै पटक २२ करोड व्यय भार पर्ने भएकाले विद्यार्थीको माग एकै पटक पूरा गर्न नसकिने उहाँको भनाइ छ ।