काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापा पार्टी आबद्ध जनवर्गीय संगठनहरुको संयुक्त बिरोध प्रदर्शनमा सहभागी हुँदै सम्बोधन समेत गरेका छन्।
आक्रोश युक्त भाषण गरेका थापाले गणतन्त्रका सम्बाहक शक्तिमाथि बारम्बार प्रश्न उठाए।
उनले गणतन्त्रले देशलाई स्थायी र समृद्धिको दिशामा लैजान नसकेको बताए।
अब राजादेखि बिप्लब माओवादीसम्म अट्ने राज्य प्रणालीबारे बहस हुनुपर्नेमा थापाको जोड थियो ।
देशमा भएका ठूला भ्रष्टाचारका काण्डहरुको फाइल खोलेर दोषीलाई तत्काल कार्बाही प्रक्रिया अघि बढाउनुपर्ने थापाको भनाइ थियो ।
पार्टी आबद्ध जनवर्गीय संगठनहरुको संयुक्त बिरोध प्रदर्शनको क्रममा नयाँ बानेश्वरमा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै थापाले ‘वाइडवडी घोटाला, एनसेल करछली, ललिता निवास काण्ड, तेत्तीस क्विन्टल सुन काण्ड ,सार्बजनिक जग्गा अतिक्रमण’ जस्ता जघन्य भ्रष्टाचारका काण्डहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई कार्बाही हुनुपर्ने बताए ।
नागरिकता बिधेयकले देशको स्वाधीनताको रक्षा गर्न नसक्ने भन्दै थापाले नागरिकता विधेयक खारेज हुनुपर्ने, संघीयताले मुलुकलाई टाट पल्टाउने भएकोले संघीयता पनि खारेज हुनु पर्ने बताए। मुलुकको पहिचानको रुपमा रहेको हिन्दुराष्ट्रलाई अनावश्यक रुपमा हटाइएको भन्दै थापाले मुलुकलाई सर्बधर्म समभाब सहितको सनातन हिन्दुराष्ट्र हुनुपर्ने बिचार ब्यक्त गरे ।
नक्कली भुटानी शरणार्थी प्रकरणको चुरो सम्म पुग्न र दोषीलाई कार्बाही गर्ने हिम्मत गर्न समेत थापाले आग्रह गरे ।
प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणले देशको हित भन्दा पनि राष्ट्रिय स्वाधिनतालाई कमजोर बनाएको भन्दै उनले असन्तुष्टि पोखे ।
बेरोजगारी र बढ्दो धर्म परिवर्तनप्रति सरकार उदासीन भएकोमा आपत्ति प्रकट गर्दै थापाले मुलुकको डरलाग्दो वित्तीय सड्ढट समाधानको निमित्त सरकारसँग कुनै नीति, योजना कार्यक्रम नभएको समेत जिकिर गरे । कार्यक्रममा जनबर्गिय संगठनका अध्यक्षहरुले पनि सम्बोधन गरेका थिए ।