काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग स्विट्जरल्याण्डकी राजदूत एलिजाबेथ भोन क्यापलरले शुक्रबार बिदाइ भेट गरेकी छिन्। राजदूत क्यापलर आफ्नो साढे पाँच वर्षे कार्यकाल समाप्त गरी स्वदेश फर्कँदैछिन्।
राष्ट्रपति भवन शीतल निवासमा भएको सो भेटमा राष्ट्रपति पौडेलले स्विस सरकारले नेपालको विकास र नेपालीप्रति देखाएको सद्भाव उदाहरणीय रहेको बताएको उनका परराष्ट्र विज्ञ डा सुरेशचन्द्र चालिसेले बताए। सो अवसरमा राष्ट्रपति पौडेलले दुई देशबीचको सम्बन्ध आगामी दिनमा अझै प्रगाढ हुँदै जाने विश्वास समेत व्यक्त गरे। राजदूत क्यापलरले आफ्नो कार्यकालमा दुई देशबीचको सम्बन्ध प्रगाढ र बलियो बनाउन खेलेको योगदानको समेत राष्ट्रपति पौडेलले सो अवसरमा प्रशंसा गरेका थिए।
दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात द्विपक्षीय सम्बन्ध सुमधुर, नजिकको र मित्रवत रही आएको छ। नेपालले स्विट्जरल्याण्डसँगको सम्बन्धलाई आपसी सम्मान, मित्रता र सहयोगका आधारमा उच्च महत्व दिँदै आएको छ।