काठमाडौँ – नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुका वकिलले जाहेरवालामाथि पनि मुद्दा चलाउनुपर्ने माग गरेका छन्।
बुधबार सुरु भएको प्रतिवादी पक्षका वकिलहरुको बहसमा ‘घुस लिने मात्रै दोषी नभई दिने पनि दोषी हुने’ दाबी गर्दै सरकारी पक्षले जाहेरवालहरुलाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताएका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबबार तीनजना प्रतिवादीका वकिलहरुले बहस सकेका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा चर्चित प्रतिवादी सानु भण्डारीसहित केशव दुलाल र टेकबहादुर गुरुङका पक्षका वकिलहरुले प्रतिरक्षा बहस गरेका हुन्।
भण्डारी र गुरुङका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता शिवप्रसाद रिमालले नक्कली शरणार्थी प्रकरणको अनुसन्धानमाथि नै प्रश्न उठाए।
उनले अनुसन्धानमा बद्नियतपूर्वक गरिएको दाबी गर्दै जाहेरवालाहरु पनि अनुसन्धानको दायरामा ल्याएर अभियोग लगाउनुपर्ने बताए।
‘गजेन्द्र बुढाथोकीलाई किन प्रतिवादी बनाइएन? जाहेरवालामाथि पनि अनुसन्धान गरिनुपर्छ,’ उनले अगाडि भने, ‘उजुरीकर्तालाई पनि मतियारका रुपमा उभ्याउनुपर्छ।’
उनले सानु भण्डारीले प्रहरी समक्ष अभियोग स्वीकार गरे पनि अदालतमा गरेको बयानमा इन्कारी बयान गरेका छन्। प्रहरीले आफूलाई राति राति दबाबमा बयानमा हस्ताक्षर गर्न लगाएको दाबी भण्डारीले अदालतमा गरेका छन्।
त्यसैलाई उनी पक्षीय वकिलहरुले निर्दोषिताको प्रमाणका रुपमा इजलास समक्ष प्रस्तुत गरे। ‘मौकाको कागज बाहेक अदालतमा इन्कारी बयान गरिएको छ। प्रहरीले जबरजस्ती गराएको बयानलाई मान्यता दिनु हुँदैन।’
अर्का वकिल चुणामिण पोखरेलले भण्डारीले जग्गा खरिदका लागि भनेर २८ लाख लिएको ७० लाख फिर्ता गर्न पनि ठगीमा किटानी जाहेरी दिनु मिटरब्याजी भएको दाबी गरे। भण्डारीले नक्कली शरणार्थी बनाएर अमेरिका पठाउनका लागि नभइ जग्गा खरिदका लागि पैसा लिएको उनको दाबी थियो।
प्रतिवादी टेकबहादुर गुरुङ होटल व्यवसायी भएकाले होटलमा कोही आएर छलफल गरेकै आधारमा प्रतिवादी बनाइनु अन्यायपूर्ण भएको उनी पक्षीय वकिलहरुको दाबी थियो। अधिवक्ता पोखरेलले ऋण लिएका कारण घर नै लिलामीमा परेका व्यक्तिले करोडौँ लिएको भए किन ऋण तिरेन भनेर प्रश्न गरे।
‘बैंकले घर लिलाम निकालेको छ। पैसा त्यहाँ किन तिरेनन्? उनी व्यवसायी मात्रै हुन्,’ अधिवक्ता पोखरेलले अगाडि भने, ‘चिनजानकै आधारमा मुद्दा लगाइएको छ। उनलाई होटलवालालाई आगन्तुकले गर्ने मिटिङ बारे थाहा हुँदैन।’
भणडरी र गुरुङका अर्का वकिल शालिग्राम सापकोटाले प्रतिवादीले एकले अर्कालाई पोलेकाले जिरह गर्न दिनुपर्ने माग गरे। उनले भण्डारीलाई राति राति गराइएको बयानका आधारमा मुद्दा चलाउने हो भने थप व्यक्तिलाई समेत मुद्दा चलाउनु पर्ने जिकिर गरे।
‘हिरासतमा गराइएको बयानलाई स्वतन्त्र रुपमा पुष्टि नभएसम्म मान्यता दिन सकिँदैन,’ अधिवक्ता सापकोटाले भने, ‘सानुलाई महाभारतको सञ्जय बनाउने हो भने दिएको अभियव्यक्तिका आधार कसैलाई मुद्दा नचलाउने हो भने अरुलाई ड्यामेज गर्नका लागि अभियोगपत्र ल्याइएको हो।’ भणडरी र गुरुङको बचाउमा अधिवक्ताहरु शरदप्रसाद कोइराला, खडानन्द कँडेलले पनि बसह गरेका थिए।
त्यस्तै केशव दुलाल निर्दोष रहेको भन्दै वकिलहरु विकास भट्टराई, विकास थापा, विश्वास आचार्य, योगेन्द्र अधिकारी, नरबहादुर अधिकारी र राजन भट्टराईले बहस गरे।
बहस बिहीबार पनि जारी रहनेछ। प्रहरीले दुलालाई नक्कली भुटानी शरणार्थी प्रकरणको मुख्य अभियुक्तका रुपमा प्रस्तुत गरेको छ। वकिलहरुले एउटै अभियोगपत्रमा धेरै प्रतिवादी बनाउन नहुने सर्वोच्चले स्थापित मान्यता विपरीत सरकारी वकिलले मुद्दा दायर गरेकाले सबैलाई सफाइ दिनुपर्ने समेत बताएका छन्।
नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँड, सचिव टेकनारायण पाण्डेसहित ३० जनाविरुद्ध संगठित अपराध, ठगीसहित चारवटा अभियोगमा मुद्दा दायर गरिएको छ। जसमध्ये १८ जना प्रतिवादीहरु पक्राउ परेका छन्।