–निमकान्त पाण्डे
नेपाली राजनीतिक इतिहासका सर्वाधिक चर्चित र महत्वपूर्ण भूमिका भएका पात्रमध्येका एक हुन्, प्रधानमन्त्री प्रचण्ड । तत्कालीन सशस्त्र जनयुद्धका सुप्रिमो, कम्युनिस्ट पार्टीका नेतृत्वकर्ता र देशमा राजतन्त्र अन्त्य र गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्रचण्डको राजनीतिक यात्रा भने सरल यात्रामा हिँडेको देखिँदैन । शान्तिप्रक्रियामा आएर संसदीय राजनीतिक व्यवस्थामा होमिनुअघि र पछि प्रचण्डमा धेरै नै परिवर्तनहरु आएका छन् । यी परिवर्तनहरु यस्ता छन्, जसले सधैं प्रचण्डलाई विवादको घेरामा तानिरहेका हुन्छन् ।
विवादकै यही शृंखलामा अर्को लहरो थपिएको छ, प्रधानमन्त्रीको हालैको भारत भ्रमण । भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्ड इन्दौरस्थित महाकालेश्वर मन्दिरको भ्रमणमा पनि पुगे । त्यहाँ उनले गेरुवस्त्र धारण गरेर पूजा गरिरहेको तस्बिर सार्वजनिक भयो । लगत्तै प्रचण्डको विगत र वर्तमानलाई दाँज्दै विभिन्न कोणबाट आलोचना सुरु भएको छ । आलोचना गर्नेमा प्रचण्डकै लामो समयसम्म सहयात्री रहेका डा. बाबुराम भट्टराई पनि छन् । भट्टराईले उक्त तस्बिर राखेर ‘हामी कता जाँदै छौं ? देश कता जाँदै छ ?’ भन्ने टिप्पणी गरेका छन् । माओवादीकै अन्य नेतालाई प्रधानमन्त्रीको यो स्वरुपको प्रतिरक्षा गर्न हम्मेहम्मे परेको छ ।
विगतमा माओवादीले गरिब, सर्वहारा, मजदुर वर्ग तथा समाजमा दबिएर र पिल्सिएर बसेका जनताको आवाज बुलन्द पारेको थियो । सा, पूँजीवादको विरोध गदै केही सीमित वर्गले मात्र राज्यको लाभ पाउने व्यवस्था अन्त्य गर्नुपर्ने भन्दै युद्ध सुरु गरेको थियो । राजाले चलाएको धार्मिक गतिविधिको विरोध र धर्म निरपेक्षवादको पक्ष लिएको थियो । र, यसको नेतृत्व समाजवादको वकालत गर्ने प्रचण्डले गरेका थिए । तर, शान्तिप्रक्रियामा आएपछि भने माओवादी, प्रचण्ड र यो दलका नेताहरुमा क्रमभंगता देखिन थाल्यो । माओवादीकै थुप्रै नेताहरुको जीवनस्तरमा अपत्यारिलो परिवर्तन देखिन थाल्यो । शान्ति प्रक्रियायता बनेका सरकारमा निरन्तरजसो सहभागी भएका माओवादी नेताहरु विकास र समृद्धिभन्दा पनि भ्रष्टाचार, अनियमितता र व्यक्तिगत लाभका विषयमा रमेको भन्दै आलोचना सुरु भयो । यही कारण माओवादीले पनि निरन्तर जनमत गुमाउँदै गयो । पहिलो संविधान निर्वाचनमा पहिलो दल बनेको माओवादी अहिले तेस्रो दलमा र निकै थोरै सिटमा खुम्चिएको छ ।
माओवादीमा देखिएको यो क्रमभंगता प्रचण्डबाट नै सुरु भएको देखिन्छ । धार्मिक गतिविधिलाई निरुत्साहित गर्नुपर्ने प्रचण्ड स्वयं आफ्नो व्यक्तिगत कमजोरीका कारण कहिले भैंसी पूजा गर्ने त कहिले गेरुवस्त्र धारण गर्ने अवस्थासम्म आइपुगेका छन् । यसलाई प्रचण्ड स्वयंले भने बचाउका लागि विभिन्न तर्क दिँदै आएका छन् । कुनै बेला सामन्ती पोशाक भन्दै दौरा सुरुवाल बहिस्कार गरेका प्रचण्ड अहिले त्यही पोशाकमा ठाँटिएर हिँड्न थालेका छन् । तेस्रोपटक प्रधानमन्त्री हुँदा पहिलोपटक दौरा सुरुवाल लगाएका प्रचण्डले सांसदहरुको प्रश्नको जवाफ दिने क्रममा प्रतिनिधिसभामा भनेका थिए, ‘प्रतिस्पर्धाको राजनीतिमा आएपछि आमजनताको मनोभावना र मनोबललाई सम्बोधन गर्न सकिएन भने क्रान्तिकारिताको प्रदर्शनले निर्वाचनमा परिणाम राम्रो दिएको पनि देखिनँ । लगाउने जतिले जितेका छन्, नलगाएकाले हारेका छन् ।’ उनले दौरासुरुवाल कुनै जाति विशेषको नभएर आम पोशाक भएको पनि दाबी गरे ।
यसरी क्रमभंगता गर्दै जाने र आफ्नो स्वार्थपूर्तिका लागि जस्तोसुकै तर्क गर्न पनि पछि नपर्ने प्रवृत्ति प्रचण्डमा देखिएको छ । यही कारण माओवादको सिद्धान्त र पहिचानको राजनीतिलाई पनि उनले छोडेका छन् । गेरुवस्त्र धारणकै विषयमा पनि प्रचण्डले यस्तो गर्नुमा भारतलाई खुसी पार्न हो भन्नेमा कुनै दुईमत छैन । लामो प्रतीक्षापछि भारत भ्रमणमा जान पाएका प्रचण्ड त्यहाँका हिन्दूधर्मवादी दल बीजेपीको चाहनामा महाकालेश्वर पुगेको स्पष्ट नै छ । प्रचण्डले पनि बीजेपीको त्यो योजनालाई अस्वीकार गर्न सकेनन् । स्वीकार गरेमा फेरि बीजेपी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कोपभाजनमा पर्ने हो कि भन्ने डर उनलाई थियो । कतै भारत भ्रमण नै असफल हुने हो कि भन्ने भय पनि थियो । त्यसैले उनले गेरुवस्त्र लगाएर महाकालेश्वरमा पूजा गरे ।
तर, आफ्नो अडान कायम राख्न नसकेका प्रचण्डले आफ्नो उक्त गतिविधिको बारेमा स्पष्टीकरण नै दिनुपरेको छ । उनले भारतीय चाहना र भारतीय जनतामा गलत सन्देश नजाओस् भन्नका लागि आफूले त्यसो गरेको जनाएका छन् । तर, त्यही कारणले यत्रो वर्षसम्म उनले बनाएको छवि भने गल्र्याम्मगुर्लुम्म ढलेको छ । साथै, भविष्यमा जनयुद्धको संघर्षपछि प्राप्त उपलब्धि गुम्ने अवस्था आएमा पनि त्यसलाई प्रचण्डले कुनै न कुनै कारण दिएर सामान्यीकरण गर्लान् कि भन्ने आशंका पनि बढेको छ । प्रचण्डको यस्तो गतिविधिले माओवादी जनयुद्धको आवश्यकता, सार्थकता र हालसम्म देशमा माओवादीको भूमिकाको विषयमा ठूलो प्रश्नचिह्न खडा गरेको छ । जनधारणा साप्ताहिक