बर्दिया । केही दिनयता बाँके, बर्दिया, कैलाली र कञ्चनपुरलगाएत पश्चिम तराईका जिल्लामा अत्याधिक गर्मी बढेको छ । दिउँसो चल्ने तातो हावाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । दिउँसो चल्ने तातो हावाका कारण अत्यावश्क काममा वाहेक मानिसहरु घरबाट बाहिर निस्कन सकेका छैनन् ।
अत्याधिक गर्मी बढेसँगै बाँके–बर्दियाका अधिकांश विद्यालय केही दिनमा लागि बन्द गरिएको छ । जिल्लाका विभिन्न पालिकाहरुले सुचना जारी गरेर विद्यालयको पठनपाठन बन्द गर्न निर्देशन दिएका छन् । बर्खे बिदाबाट मिलान गर्ने गरी पालिकाहरुले ३ देखि ५ दिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।
बर्दियाको बढैयाताल गाउँपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिकाले मंगलबारदेखि शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् । बाँकेमा नेपालगंज उपमहानगरपालिका, खजुरा गाउँपालिक, बैजनाथ गाउँपालिका र कोहलपुर नगरपालिकाले पनि गर्मी बिदा दिएका छन् ।
अत्याधिक गर्मीका कारण पठनपाठनमा कठिनाइ भएको र अभिभावकको पनि केही दिन विद्यालय बन्द गर्न सुझाव आएपछि बर्खे बिदाबाट मिलान हुने गरी केही दिन विद्यालय बन्द गरिएको पालिकाहरुले सूचनामार्फत जानकारी दिएका छन् ।