काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको अन्तिम १० खेल बाँकी छँदा आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) ले मुख्य प्रायोजक पाएको छ ।
कतार एयरवेजले जारी सिजन तथा आगामी सिजनका लागि पनि ‘ए’ डिभिजन लिगका लागि एन्फासँग सम्झौता गरेको हो । एन्फाका प्रवक्ता सुरेश शाहले जारी सिजनको लिगका लागि कतार एयरवेजले ५० हजार अमेरिकी डलरको प्रयोजन गरेको बताए ।
उनका अनुसार आगामी सिजनका लागि भने कतार एयरवेजले १ लाख ५० हजार अमेरिकी डलर प्रदान गर्नेछ । ‘हामीले सुरुवातबाटै १ लाख ५० हजार डलरको सम्झौताका लागि प्रयास गरेका थियौँ तर उनीहरुको कानूनी प्रकृयाका कारण त्यो सम्भव भएन । तर अन्तिम समयमा जति आयो त्यति लिने भनेर निर्णय गरेका हौँ,’ प्रवक्ता शाहले बताए ।
उनले जारी सिजनको लिगका लागि १२ करोड अनुमानित बजेट रहेको छ र मुख्य प्रायोजकबाट आएको रकम लिगमै खर्च हुुने बताए । जारी सिजनको लिग भने एक खेलअगावै चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले जितिसकेको छ ।