विराटनगर । नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको छ।
सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएर माओवादी केन्द्र बाहिरिएपछि नेकपा एमालेका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार अल्पमतमा परेको छ।
माओवादी केन्द्र कोशी प्रदेशका संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले मुख्यमन्त्री कार्की नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिए। केन्द्रीय गठबन्धनमा आएको फेरदलको कारण आफूहरुले समर्थन फिर्ता लिएको आङ्बोको भनाइ छ।
मंगलबार बसेको माओवादी केन्द्र प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्तासँगै सरकारमा सहभागी दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा पर्यटन, वन तथा वातावरण मन्त्री जीवन आचार्य र भौतिक पूर्वाधार विकास मन्त्री दुर्गाप्रुसाद चापागार्इंले राजीनामा दिएका छन्।
आङ्बोले वर्तमान सरकार र राजनीतिक दलकै सहमतमा प्रदेश नामकरण भएपनि पहिचान पक्षधरले उठाएको मागप्रति प्रदेश सरकारले कुनै चासो नराखेकाले समर्थन फिर्ता लिइएको बताए। नेता आङ्बोले मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग वार्ता गर्न आह्वान गरे पनि वार्ता टोली गठन नगरेको र पहिचानवादीलाई वेवास्ता गरेको आरोप लगाए। ‘सरकारले पहिचानवादीको आन्दोलन र मागलाई वेवास्ता गरेको छ, सम्मान गरेको छैन,’ उनले भने।