काठमाण्डौ / नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमले आज भारत भ्रमणमा जान लाग्नु भएका प्रधानमंत्री प्रचण्डलाई कुनै सम्झौता नगरेर भ्रमण स्थगित गरी बीचैमा फर्किन सुझाव दिनु भएको छ । गौतमले भारत सरकारबाट हालै जारी भएको नक्सा सच्याउन भ्रमण अवधिमै प्रस्ताव गर्न सुझाव राख्नु भएको छ ।
प्रधानमंत्रीको भारत भ्रमण हुनु पूर्व एक प्रेस बिज्ञप्ति जारी गर्दै गौतमले भारतले नेपाली भूभाग कपिलवस्तु र लुम्बिनीसमेत समेटेर अखण्ड भारत भन्दै नक्सा सार्वजनिक गरेको घटना मिचाहा प्रबृत्ति भन्दै भारतले जारी गरेको यस्तो नक्सालाईनेपाल सरकारले अमान्य घोषणा गर्नुपर्ने र बिरोध जनाउनु पर्ने सुझाव राख्दै नक्सा सच्याउन भारतका प्रानमंत्री नरेन्द्र मोदी असमत भएमा अन्य कुनै सम्झौता नगरी भ्रमण रोकेर बीचैमा स्वदेश फर्किन सुझाव राख्नु भएको छ ।
गौतमले जारी गर्नु भएको प्रेस बिज्ञप्ति यस प्रकार छ :-
प्रेस बिज्ञप्ति
कपिलवस्तु र लुम्विनी नेपालको अखण्ड भूमि हो। नेपालको दक्षिणी छिमेकी राष्ट्र भारतले नेपालको सो भूमि कपिलवस्तु र लुम्विनीलाई भर्खरै जारी गरेको आफ्नो नक्सामा उल्लेख गरेर आफ्नो मिचाहा प्रवृति प्रकट गरेको छ। हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ , हामी यस्तो प्रबृतिको बिरोध गर्छौं ।
नेपाल सरकारले यो नक्सालाई अमान्य घोषणा गर्नु पर्छ र तुरुन्त भारत सरकार समक्ष विरोध प्रकट गर्नु पर्छ। आज भारत भ्रमणमा जान लाग्नु भएका सम्माननीय प्रधानमन्त्री प्रचण्डले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष सो नक्सावाट नेपालको कपिलवस्तु र लुम्विनीको नाम हटाउन अनुरोध गर्नु पर्छ। नाम हटाउन भारतका प्रधानमन्त्री मोदी तयार नभएमा हाम्रो प्रधानमन्त्रीले भ्रमण वीचैमा रोकेर कुनै संझौता नगरी नेपालको संघीय संसदसंग परामर्श गर्छु भनेर फर्कनु पर्छ।
वामदेव गौतम
अध्यक्ष
नेकपा राष्ट्रिय एकता अभियान
१७ जेठ २०८०