धनगढी – धनगढीको एक निजी अस्पतालमा कार्यरत डाक्टर मृत भेटिएको घटनामा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
धनगढी उपमहानगरपालिका–५ बस्ने २६ वर्षीया डा. प्रशन्ना शाह मृत भेटिएको घटनाको अनुसन्धानका लागि प्रहरीले दुई युवकलाई नियन्त्रणमा लिएको हो।
धनगढीको माया मेट्रो अस्पतालमा कार्यरत डाक्टर शाहको मृत्यु प्रकरणमा धनगढीकै विकल केसी र मायामेट्रो अस्पतालमा कार्यरत डा. सन्दीप भट्टराईलाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा शाहका पूर्व प्रेमीसमेत रहेका केसी र हालका प्रेमी भट्टराईलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको बताए।
उनका अनुसार केसी शनिबार बिहान र भट्टराई दिउँसो जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका हुन्। आत्महत्या गर्न बाध्य पारेको भन्दै मायामेट्रो अस्पतालमा उनीसँगै कार्यरत डाक्टर भट्टराई र धनगढीकै स्थानीय केसीलाई समातिएको हो। उनीहरु अहिले प्रहरी थुनामा छन्।
प्रहरीका अनुसार भट्टराई शाहसँग प्रेम सम्बन्धमा थिए। मृतकका आफन्तले आत्महत्या दुरुत्साहनसम्बन्धी दुवै जनाविरुद्ध किटानी जाहेरी दिएका छन्।
उनकाअनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रहरी प्रवक्ता चन्दले घटना प्रारम्भिक अनुसन्धानको चरणमा रहेकाले धेरै कुरा सार्वजनिक गर्न नमिल्ने बताए। मायामेट्रो अस्पतालमा कार्यरत डाक्टर शाह बिहीबार बिहान आफ्नै घरको कोठामा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। उनको मोबाइल प्रहरीले बरामद गरेको छ।


