काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को ७६ औँ महासभामा सहभागी हुन जेनेभा जाने भएका छन्।
उनीसँगै स्वास्थ्यका ६ जना उच्च अधिकारी पनि जाने कार्यक्रम छ।
स्विट्जरल्यान्डको जेनेभामा ७ देखि १८ जेठसम्म डब्लुएचओको ७६ औं महासभा हुँदै छ । उक्स महासभामा भाग लिन मन्त्री बस्नेतसँगै अतिरिक्त स्वास्थ्य सचिव विकास देवकोटासहितको टिम जान लागेको हो।
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष गर्ने यो महासभालाई स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो सम्मेलन मानिन्छ। यो पटक थोरै टिम लिएर आफू महासभामा भाग लिन जान लागेको मन्त्री बस्नेतले बताए।
शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार मन्त्री बस्नेतले भने ‘६ जनाको सानो टिम लिएर म महासभामा जाँदै छु सम्भवतस् यो टिम इतिहासकै सानो टोली हो। योभन्दा अगाडि धेरै ठूलो संख्यामा जानु हुन्थ्यो जुन हामीले महसुस गरेनौं।’ यसपटको डब्लुएचओको महासभामा नेपालको मुख्य एजेण्डा भनेको आगामी सेप्टेम्बरमा हुन लागेको डब्लुएचओ को दक्षिण पूर्वी एसियाली देशहरूको क्षेत्रीय निर्देशकको निर्वाचन हो।
यो निर्वाचनमा यसपटक नेपालले उम्मेदवारी दिने घोषणा यसअघि नै गरिसकेको छ । नेपालको तर्फबाट डा। शम्भु आचार्य उम्मेदवार छन्। त्यसैले नेपालले डब्लुएचओको दक्षिण पूर्वी एसियाका देशहरूसँग क्षेत्रीय निर्देशकको लागि मत माग्ने मुख्य एजेन्डा रहेको मन्त्री बस्नेतले बताए।
डब्लुएचओको केन्द्रीय कार्यालयमा कार्यरत नेपाली डा। शम्भु आचार्यलाई उम्मेदवार बनाउने निर्णय सरकारले यसअघि नै गरिसकेको थियो। डब्लुएचओको क्षेत्रीय निर्देशकका लागि नेपालबाहेक बंगलादेशले पनि आफ्नो दावी पेस गरिसकेको छ। बंगलादेश सरकारले त्यहाँको प्रधानमन्त्री शेख हसिनाकी छोरी साइमा वाजेदलाई उम्मेदवार बनाएको छ । त्यसैले यसपटक नेपाल र बंगलादेश डब्लुएचओको आगामी क्षेत्रीय निर्देशकको लागि भिड्दैछन्।
नेपालले उम्मेदवार बनाएका डा। आचार्य सन् १९९२ देखि डब्लुएचओमा आवद्ध भएर काम गरिरहे छन भने सन् २०१६ देखि उनी डब्लुएचओको मुख्यालयमा निर्देशकको रुपमा कार्यरत छन्। यसअघि पनि नेपालका तर्फबाट यो पदको लागि डा। रिता थापा र डा। सुनिती आचार्यले उम्मेदवारी दिए पनि पराजित भएका थिए डब्लुएचओको दक्षिण पूर्वी एसिया क्षेत्रमा ११ बटा देश पदर्छन् जसमा नेपाल, भारत, भूटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्याण्ड, बंगलादेश, उत्तर कोरिया, इन्डोनेसिया र टिमोर रहेका छन्।
सर्वसम्मती रूपमा नचुनिए क्षेत्रीय निर्देशकको लागि सबै ११ वटै देशहरुकै मतदानबाट निर्देशक चुनिने व्यवस्था रहेको छ। अहिले दक्षिण पुर्वी एसिया निर्देशकमा भारतकी डा पुनम क्षेत्रपाल रहेकी छन् । उनी दोस्रो कार्यकाल क्षेत्रीय निर्देशकको रुपमा काम गरिरहेकी छन् । सन् २०१४ मा पहिलो पटक निर्विरोध भएकी उनी २०१८ मा पनि निर्विरोध भएकी हुन् ।


