काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले समायानुकूल जनताका अजेण्डाहरु बोकेर क्रान्तिकारीहरु एक ठाउँमा उभिनुपर्ने बेला भएको बताएका छन्।
सोमबार ‘विद्यार्थी दिवस र अबको बाटो’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले लामो संघर्ष गरेर लोकतन्त्र प्राप्त गरे पनि पूर्ण रुपमा अझै लोकतन्त्र पाउन नसकेको भन्दै अब समयानुकूल वर्तमान अजेण्डा र जनताको चाहना बोकेर अघि बढ्न आवश्यक भएको बताए।
उनले लामो समय सत्तामा रहेर पनि कुनै उपलब्धि दिन नसक्दा जनताले नयाँ विकल्प खोजेको बताए। विगतका गाथा मात्रै गाएर बस्ने हो भने जनता कम्युनिष्टहरुबाट अलग्गिन सक्ने खतरा रहेको उनले उल्लेख गरे। उनले जनताले नयाँ विकल्प खोजे पनि ठम्याउन नसकेको बताए।
उनले भने, ‘हामीले लामो संघर्ष गरेर सात सालदेखिका आन्दोलन र माओवादी जनयुद्ध हुँदै आउँदा लोकतन्त्रको लडाइँ त मूल रुपमा सम्पन्न गरका छौं तर पूर्ण रुपमा विजयी पाउन सकेका होइनौं।
हाम्रो क्रान्ति एक प्रकारको हलाल क्रान्ति थियो, छिनाल क्रान्ति होइन, कतिपय यथास्थितिवादी पश्चगामी सोच राख्ने शक्तिहरुसँग पनि सम्झौता गर्न बाध्य भयौं, त्यसले गर्दा जुन प्रकारका नीतिहरु लागू गर्न सक्नुपर्दथ्यो, खासगरी वैज्ञानिक भूमि सुधार गरेर किसानहरुमा जमिनको पहुँच शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने कुरा,त्यसैभित्र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम फटाफाट गरेर जान सक्नुपर्ने थियो। हामीले सकेनौं।’
पूर्वप्रधानमन्त्री भट्टराईले वैज्ञानिक भूमि सुधार गरेर किसानहरुमा जमिनको पहुँच, शिक्षा स्वास्थ्य सामाजिक सुरक्षामा सबै जनताको अधिकार स्थापित गर्ने र उद्योगधन्दा खोलेर रोजगारी गर्ने काम गर्नुपर्नेमा सो हुन नसकेको बताए।