काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. आरजु राणा देउवा र मञ्जु खाणमाथि मिडिया ट्रायल भएको आरोप लगाएको छ। मंगलबार सरकारका अर्थमन्त्री एवं पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले डा. आरजु र मञ्जुमाथि मिडिया ट्रायल गरेर दोषी भन्न नहुने बताएका हुन्।
प्रवक्ता डा. महतले मञ्जु खाण कहाँ छन् भनेर पार्टीले फलो नगरेको समेत बताए। ‘को कहाँ छन्, कहाँ गए, के गरे भनेर पार्टीले फलो गर्ने कुरा भएन। उहाँहरूमाथि मिडिया ट्रायल भइराख्या छ। डा. आरजु आफैंले प्रतिरक्षा गरिराख्नुभएको छ।
न उहाँ आरोपित हो न प्रमाणित छ। यस्तो आयो भनेर सामाजिक सञ्जालमा र मिडिया ट्रायल गरेर दोषी हो भन्नु भएन। यसमा कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले भने। प्रवक्ता डा. महतले आरजु आफैंले साइबर ब्युरोमा नक्कली हो भनेर निवेदन दिएको बताउँदै पहिल्यै दोषी भनेर सामाजिक सञ्जाल लगायत मिडियामा प्रस्तुत गर्न नहुने बताए।
‘यसप्रति गम्भीर ध्यानाकर्षण भएको छ। हामीलाई पूरा विश्वास छ। अडियो प्रकरण झूटो र नक्कली हो,’ उनले भने। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकष्ण खाण पक्राउ परिसकेका छन्।