काठमाडौं । आरजु राणा, आफ्नै अभिव्यक्तिका कारण बेलाबेलामा विवादमा तानिने पात्रमा पर्छिन् । कहिले आफू शक्तिशाली नेताको पत्नी त कहिले आफूमाथि लागेका आरोपलाई महिला हिंसाको संज्ञा दिएर चर्चामा आउने उनी पछिल्लो समय अन्तरवार्ता दिने काममा व्यस्त छिन् । के आरजुमाथि लागेका आरोप मिडियाबाट अन्तरवार्ता दिएर दिएका प्रष्टीकरणले पखाल्न सक्छ त ?
आरजु राणा कांग्रेसबाट प्रतिनिधिसभा सदस्य हुन् । उनी कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी समेत हुन् । लेखपढ गरेकी राणा खान्दानकी आरजु एकपछि अर्को विवादमा परिरहन्छिन् ।
विवाद र आरजु पर्याय जस्तै बन्न पुगेका छन् । देउवा पत्नी आरजु पछिल्लो समय नक्कली शरणार्थी प्रकरणमा जोडिन पुगेकी छन् ।
प्रहरीले समेत आरजुविरुद्ध स्वतन्त्र प्रमाण फेला पार्न नसकिरहेको बेला आरजुमाथि सर्वसाधारणले भने जबरजस्त यो प्रकरणमा घचेट्न खोजिरहेका छन् ।
आफूमाथि यस्तो आरोप लागेपछि आरजुले संसदमै आफ्नो श्रीमान पाँच पटक प्रधानमन्त्री बनेको विषय कोट्याइन् ।
सम्पत्ति छानविनको विषय समेत उठाउदै उनले एउटा महिलाले गरेको प्रगति कसैले सहन नसक्ने भन्दै आफूविरुद्ध यस्तो आरोप लाग्नुमा पुरुषवादी चिन्तन हाबी भएको दाबी गरिन् ।
संसदमा आरजुको यो अभिव्यक्तिपछि आलोचना समेत भयो । त्यसपछि नक्कली शरणार्थी प्रकरणमा आरजु हेटौडा हुँदै सिंगापुर भागेको प्रचार फैलियो ।
आरजु सिंगापुर नै पुगिन त भन्ने विषय संशयमा आएपछि भने उनले अन्तरवार्तालाई प्राथमिकतामा राखेर विभिन्न माध्यममा प्रष्टीकरण दिन पुगेकी छन् ।
आरजुले आफू नक्कली शरणार्थी प्रकरणमा नजोडिएको दाबी गर्दै गर्दा कांग्रेसको भातृ संगठन तरुण दलले विज्ञप्ति नै जारी गरेर उनको बचाउ गरेको छ । तरुण दलले अनुसन्धान जारी रहेको भन्दै अनावश्यक आरोप लगाएकोमा आपत्ति नै जनाएको छ ।
आरजु विवादमा तानिएको यो पहिलो घटना भने होइन् । गएको निर्वाचनमा समेत उनले विभिन्न आश्वासन दिएको आरोपमा हैरानी र आलोचना खेप्नु परेको थियो ।
फ्रि भिसा, फ्रि टिकटको कुरा उठाउने देखि विभिन्न विषयमा विवादमा तानिएकी उनी नक्कली शरणार्थी प्रकरणमा तानिएपछि भने सरगर्मी बढेको छ ।
प्रहरीले अनुसन्धान गरिरहेको विषय भएकाले पनि अहिले नै आरजुमाथि आरोप लगाउनु स्वभाविक नहोला । तर, हावा नै नचलि पात कसरी हल्लियो त ? प्रश्न भने पक्कै उठेको छ ।