मोरङ – नेपाल–भारत दुवैतर्फका सुरक्षा निकायबीचको समन्वयमा दशगजा क्षेत्रमा अतिक्रमण गरी निर्माण भएका अवैध संरचना भत्काइएको छ।
बिहीबार नेपाल भारतको सीमा क्षेत्रको दशगजा क्षेत्रमा बनेका अवैध घरटहरा हटाउने अभियानअन्तर्गत संयुक्त समन्वयमा डोजर चलेको हो।
यसअघि, दुवैतर्फबाट सूचना जारी गरी अतिक्रमित दश गजा क्षेत्र खाली गर्न आह्वान गरेको थियो। तर सो क्षेत्रका बासिन्दाले सो क्षेत्र खाली गर्न नमानेपछि सशस्त्र प्रहरी बल र भारतको सीमा सुरक्षा बलले पहिलोपटक डोजर प्रयोग गरेको हो।
यस क्रममा विराटनगर महानगर १६ को दरैया क्षेत्र र भारतको टिकुलिया क्षेत्रको दशगजामा निर्माण गरिएको ५५ वटा घरटहरा भत्काइएको छ। सशस्त्र प्रहरी बलका मोरङ प्रमुख प्रहरी उपरीक्षक तीर्थ थापाका अनुसार अवैध संरचना भत्काउने क्रममा ५३ वटा भारतीय र २ वटा नेपाली नागरिकको बनाएका घर परेका छन्।
प्रहरी उपरीक्षक थापाले दरैया–टिकुलियाबीचको १८० नम्बर पिलरदेखि १८०÷१९ सम्म लगभग १ किमिजति क्षेत्रमा बनाइएका संरचना हटाएर दशगजा क्षेत्र खाली गरिएको जानकारी दिए।
यस क्रममा विराटनगर–१८ मटेरुवा र भारततर्फ जोगबनीको मेनरोडबीच दशगजामा बनाएको अवैध संरचना भत्काएको छ। सशस्त्र प्रहरीका अनुसार १७९÷२ पिलरसम्म लगभग १ किमि क्षेत्रमा बनाइएका ५० वटाजति घर भत्काएको छ। जसमा १५ वटा नेपाली नागरिकका घर परेका छन्। सो क्षेत्रमा भारततर्फ पक्की घर र नेपालतर्फ फुस टिनको घर निर्माण भएका थिए। अतिक्रमित क्षेत्रमा डोजर चल्न थालेपछि दशगजा कब्जा गरेर बसेकाहरू विरोधमा उत्रिएका थिए।