काठमाडौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा तत्कालीन गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डे र तत्कालीन गृहमन्त्री बालकृष्ण खाणकाबीचमा मोबाइलमा पैसाको ‘डिल’ भएको एसएमएस प्राप्त भएपछि प्रहरीले पक्राउ गरेको खुलेको छ।
पाण्डेले फर्म्याट गरेको मोबाइल प्रहरीको विधि विज्ञान प्रंयोगशालाले रिकभरी गरेपछि उक्त तथ्य खुलेको हो। खाणलाई सचिव पाण्डेले आफ्नो हिस्सावापतको रकम लिएको र मन्त्रीको पनि बुझेको देखि विचौलियासँग गरेको कुराकानीसम्मको एसएमएस प्रहरीले रिकभर गरेको थियो।
प्रहरीले मन्त्री खाण र सचिव पाण्डेकाबीचमा भएका सबै एसएमएस र सचिवको बयानपछि बुधबार बिहान खाणलाई निवासमा गएर पक्राउ गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले जानकारी दिएका छन्।
सुरुमा खाणले आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका थिए। तर खाणले सचिव पाण्डेलाई सोही कार्यका लागि मन्त्रालयमा ल्याएको र पटक–पटक विचौलियाहरुसँग ‘डिल’ गरेको उनको मोबाइलबाट खुलेको छ।
उनले मन्त्रिपरिषद्मा लगेर सचिवस्तरीय निर्णयलाई अनुमोदन गराउनु, झापासम्म पुगेर शरणार्थीका विषयमा काम गर्नु र सचिवसँग मिलेर रकम लिने कार्य गरेको निष्कर्षपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।
प्रहरीले यो कुरा सरकारी वकिल कार्यालय काठमाडौंमा बयान गराउने क्रममा पनि खाणलाई जानकारी गराएको थियो। खाणले पटक–पटक बयानका क्रममा आफूलाई बिना कारण ल्याएको भनेपछि प्रहरीले एसएमएसदेखि रकम लिएकोसम्म प्रमाणहरु सुनाएका थिए।
जिल्ला अदालतले उनलाई ४ दिन अनुसन्धानका लागि म्याद दिएको छ। प्रहरीले उक्त अवधिमा खाणलाई थप अनुसन्धान गर्ने छ।