काठमाडाैं । सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेका छन्।
बिहीबार भ्रष्टाचारविरूद्धको अभियानलाई समर्थन गर्दै नेपाल विद्यार्थी संघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुले विरोध गरेका हुन्।
नक्कली भुटानी शरणार्थी प्रकरणबारे अनुसन्धान गरी भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै विद्यार्थी संगठनहरूले विरोध प्रदर्शन गरेका छन्। उनीहरूले काठमाडौंको भृकुटीमण्डप परिसरमा प्रदर्शन गरेका हुन्।
प्रदर्शनका क्रममा कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले चलाएको अभियानलाई समर्थन गर्न प्रदर्शन गरेको बताइन्।
उनले नेपाली जनतामा भ्रष्टाचार गर्ने ठूला दलका नेताहरू राजनीतिक लेनदेनमा लागेको भन्ने जनताको संशयलाई ठिक ढंगले छानबिन गरी कारबाही गर्न खबरदारी स्वरूप प्रदर्शनमा आएको जनाइन्।
उनले निष्पक्ष छानबिन गरी कारबाही नभएसम्म आन्दोलन जारी रहने जनाइन्।
प्रदर्शनका क्रममा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले भुटानी शरणार्थी प्रकरणमा सरकारले थालेको अभियानलाई ऐक्यवद्धता जनाएको जनाए।
उनले यो घटनाको कुनै पनि दबाबमा नपरीकन पक्राउ गरी छानबिन गर्न आग्रह गरे।
सरकारले व्यक्त गरेको साहस र दृढता स्वागतयोग्य रहेको र विगतका सबै भ्रष्टाचारको फाइलहरू खोल्नुपर्ने बताए।