काभ्रे । दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।
नेपाल प्रहरीले शोक धुन बजाएर राष्ट्रिय सम्मानसहित मुकेशको बिहीबार दिउँसो ३ बजे अन्त्येष्टि गरिएको हो । बनेपा नगरपालिका-७ स्थित उग्रतीर्थ घाटमा मुकेशको अत्येष्टि गरिएको हो । उनका बुबा कृष्णमान कायस्थले दागबत्ती दिएका थिए । मुकेशको शिर मेमोरियल अस्पतालमा बुधबार साँझ उपचारको क्रममा मृत्यु भएको थियो ।
मुकेशले देशमा गणतन्त्र स्थापनाका लागि पुर्याएको योगदानको कदर गर्दै नेपाल सरकारको तर्फबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले राष्ट्रिय झन्डा ओडाई सम्मानपूर्वक श्रद्धाञ्जली व्यक्त गरे ।
त्यस्तै स्वास्थ्य तथ जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत, गृहसचिव दिनेश भट्टराई, संघीय सांसदहरु गोकुल बास्कोटा, सूर्यमान दोङ, मीना तामाङ, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, प्रदेश सांसद लक्ष्मण लम्साल, कञ्चनचन्द्र बादे, जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतम, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, विभिन्न स्थानीय तहका जनप्रतिनिधि लगायतले मुकेश कायस्थलाई श्रद्धाञ्जली अर्पण गरेका थिए ।
त्यस्तै, दोस्रो जनआन्दोलनको समयमा मुकेशले देशको लागि पुर्याएको योगदानलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाले आज शोक विज्ञप्ति जारी गर्दै शोक बिदा दिएको छ । त्यस्तै जिल्लाका विभिन्न राजनीतिक दलहरुले मुकेशको निधनमा विज्ञप्ति जारी गरेर शोक व्यक्त गरेका छन् ।