मोरङ – मोरङमा बोल्न नसक्ने अशक्त किशोरी बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता रञ्जनकुमार दाहालका अनुसार बोल्न नसक्ने १७ वर्षकी अशक्त किशोरीलाई बलात्कार गरेको आरोपमा विराटनगरका २४ वर्षीय युवक पक्राउ परेका हुन्।
विराटनगर–८ का प्रवेश बस्नेतले मोरङ बेलबारी नगरपालिकाकी अशक्त किशोरीलाई आइतबार राति करिब साढे ९ बजे बलात्कार गरेको प्रहरी अनुसन्धानमा खुलेको प्रवक्ता दाहालले जानकारी दिए।
सार्वजनिक यातायातमा सहचालक बस्नेत विराटनगरबाट बाहुनीमा चल्ने बसमा कार्यरत रहेको दाहालले बताए। राति बाहुनीस्थित पार्किंगस्थलमा बस राखेपछि खाना खाने क्रममा घटना भएको प्रहरी अनुसन्धानमा खुलेको छ।
प्रवक्ता दाहाल भन्छन्, ‘घटनाको सन्दर्भमा प्रहरीमा सोमबार जानकारी आयो। यसक्रममा बस्नेतलाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको प्रक्रिया अघि बढाइएको छ।’
घटनापछि पीडित किशोरीका बुवाले सोमबार इलाका प्रहरी कार्यालय बेलबारीमा बस्नेतविरुद्ध किटानी जाहेरी दिएका थिए। पक्राउ परेका बस्नेतविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन मंगलबार अदालतबाट म्याद थप गरेर घटनाको बाँकी अनुसन्धान अघि बढाइएको प्रवक्ता दाहालले जानकारी दिए।