काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीविरुद्ध दृढतापूर्वक उभिन चुनौती दिएका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले प्रधानमन्त्री दाहाल सो प्रकरणका दोषीलाई जोगाउने पक्षमा लागिपरेकै कारण आफूले उनीसँगको भेटमा ‘दोषीहरु कोही पनि नछुटुन्’ भन्नुपरेको जिकिरसमेत गरे।
प्रधानमन्त्री दाहालले सो प्रकरणका दोषीलाई जोगाउने, आफ्नो पार्टीलाई फसाउने खालको प्रयास गरेपछि आफूले सो प्रकरणको छानबिन गरी दोषीमाथि कारबाही गर्न दबाब दिनुपरेको उनको दाबी थियो।
सोमबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित राष्ट्रिय युवा संघ नेपालको प्रथम पूर्ण बैठकमा बोल्दै अध्यक्ष ओलीले सो प्रकरणमा आफ्नो पार्टीलाई फसाउन र दोषीलाई जोगाउन प्रधानमन्त्री दाहालले कस–कसलाई निर्देशन दिएको भन्ने कुरा आफूलाई थाहा भएको र पछि त्यसको सार्वजनिक गर्ने पनि चेतावनी दिए।
उनले प्रधानमन्त्री दाहालले आफूले भ्रष्टहरुलाई छुटाउन दबाब दिएजसरी सञ्चार माध्याममा बोलेको भन्दै हिरोइजमको खेल खेल्ने प्रयास नगर्नसमेत चेतावनी दिए। अध्यक्ष ओलीले आफ्नो पार्टी सो प्रकरणको दोषीलाई जोगाउने पक्षमा नरहेको पटक–पटक दोहोर्याए।
उनले भने, ‘भ्रष्टहरु नछुटुन् भनेर मैले प्रधानमन्त्रीलाई भन्नुको अर्थ छ। किनभने प्रधानमन्त्री भ्रष्टहरुलाई जोगाउने र अनावश्यक ढंगले मान्छेहरुलाई पोल्न लगाउने र मुद्दामा फसाउने खालका प्रयासमा हुनुहुन्छ। त्यसकारण समयमा मैले प्रधानमन्त्रीलाई भनेको छु–निर्दोषलाई फसाउने कोशिस नहोस्। कोही पनि भ्रष्टाचार नउम्किउन्।’