काठमाडौं । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्ने बताएकी छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा उनले जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेको उल्लेख गर्दै अपराधलाई संरक्षण गर्नु नहुने बताएकी हुन्। सांसद देवकोटाले भुटानी शरणार्थी प्रकरणले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको बताइन्। उनले भनिन्, ‘नक्कली भुटानी शरणार्थी प्रकरणलाई जघन्य र मानव तस्करी अपराधका रूपमा गम्भीर ढंगले छानबिन गर्नुपर्छ। जनता वास्तविकता र सत्यतथ्य बुझ्न चाहिरहेका छन्। अपराधलाई संरक्षण गर्नु हुँदैन।
यो मुद्दाले अन्तर्राष्ट्रिय रूपमा नै नेपालको छवि नराम्रो बनाएको छ। निष्पक्ष छानबिन गरी सत्यतथ्य बाहिर ल्याइ दोषीलाई कारबाही गर्न माग गर्दछु।’ राष्ट्रिय सभा सदस्य दीपा गुरूङले क्यान्टोनमेन्टको काण्डबारे छानबिन गर्न माग गरेकी छन्। उनले लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको उल्लेख गरेकी छन्। उनले क्यान्टोनमेन्टको काण्डलाई न्यायसंगत रूपमा छानबिन गर्न आग्रह गरेकी हुन्।
उनले भनिन्, ‘धेरै लामो समयबाट भ्रष्टाचारको काण्डैकाण्ड देशमा छाएको छ, त्यसको छानबिन गर्न जरूरी छ। धेरै लामो समयदेखि उठेको काण्ड अन्तर्गत क्यान्टोनमेन्टको काण्ड पनि उठेको छ, यसलाई न्यायसंगत रूपमा कानुनी तवरबाट बाहिर ल्याउन जरूरी छ।’ त्यस्तै राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पति छानबिन गर्न माग गरे।
उनले भ्रष्टाचारीविरुद्ध कडा एक्सन शुरू गर्न पनि आग्रह गरे। उनले भने, ‘हालसम्मका सबै प्रधानमन्त्री, मन्त्री र सांसद, कर्मचारीहरूको सम्पति छानबिन गरियोस्, भ्रष्टाचारीविरुद्ध कडा एक्शन शुरू गरियोस्, सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गरियोस्। आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै सुविधा कटौती गरियोस्।’ उनले सदाचारको नीति प्रधानमन्त्री कार्यालयबाट नै प्रारम्भ गर्न र आर्थिक मन्दीको समयमा तलब बाहेकका सबै सुविधा कटौती गर्न माग गरेका छन्।