काठमाडौं । सभामुख देवराज घिमिरेले सांसदहरूको ई-हाजिरी (विद्युतीय हारिजी)को व्यवस्था गर्न संघीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समिति बैठकमा उनले ई-हाजिरीको तयारी गर्न र राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न संसद् सचिवालयलाई निर्देशन दिएका हुन् । ई-हाजिरी सुरु गर्ने र सभाका सदस्यहरूको उपस्थिति वेबसाइटमार्फत सार्वजनिक गर्नेबारे भएको छलफलमा सभामुख घिमिरेले संसद्मा सांसदहरूको उपस्थिति कमजोर भएको जनाए ।
यसले सांसद् तलबभत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ रहेको भन्दै उनले सांसदहरू बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराएका छन् । साथै बैठकमा उनले संसदीय सुनुवाइ समितिसहित दुई संयुक्त समिति तीन दिनभित्र टुंग्याउनुपर्ने र समितिको नेतृत्व पनि यही बीचमा टुंगो लगाउनुपर्ने धारणा राखे ।