काठमाडाैं । दुई गम्भीर बिषयमा नेपाल कम्युनिष्टको ध्यानाकर्षित भएको छ । त्यसबारे पार्टीको दृष्टिकोण प्रष्ट पार्ने उदेश्यले यो बक्तब्य प्रकाशित गरिएको छ ।
पहिलो, नेपालबाट गैर भूटानी नेपालीलाई भूटानी शरणार्थी बनाइ विदेश पठाउने अन्तर्राष्ट्रिय जगतमा नै राष्ट्रको घोर बेइज्जत हुने ठगी तथा भ्रष्टाचार काण्डको पर्दाफास भएको छ । त्यसको यथार्थ छानबिन गरी दोषी सबैलाई कडा भन्दा कडा दण्ड सजाय गर्न नेपाल कम्युनिष्ट पार्टी माग गर्दछ । विगतमा जस्तो भ्रष्टाचारका ठूल्ठूला घोटालाहरुको केहिसमय हो–हल्ला चलाएर ती सबैलाई ढाकछोप गर्ने र भ्रष्टाचारीलाई चोख्याउने जुन गलत परम्परा छ यस पटक त्यस्तो नहोस् भन्ने माग पार्टी जोडदाररुपमा औल्याउँदछ । जुनसुकै दल निकट व्यक्ति वा उच्चपदस्थ भएको अधारमा दोषीलाइ उम्कन नदिइयोस् भन्नेमा पार्टी पुनः जोड दिन चाहन्छ ।
दोश्रो, विदेशीलाई रातारात नागरिकता दिने बाटो खोल्ने र युगौंयुगदेखि नेपाली धरतीमा बसोबास गर्दै आएका रैथाने तराईदेखि हिमालसम्मका वास्तविक धरतीपुत्र नागरिकहरुलाई नागरिकताबाट बञ्चित राख्ने खालको नागरिकता विधेयक प्रमाणिकरणका लागि राष्ट्रपतिकोमा पुनः पठाउन थालिएको छ त्यसलाई स्वीकार नगरियोस् भन्ने नेपाल कम्युनिष्ट पार्टी प्रष्ट औंल्याउदछ । सबै बैध र नागरिकता पाउनुपर्ने रैथाने नेपालीहरुलाई नागरिकता प्रदान गर्ने विधेयक ल्याउन ‘सत्य र न्यायको खोजी अभियान’ले जन स्तरबाट गृह सचिव र कानुन सचिवलाई बुझाएको संशोधित नागरिकता बिधेयकको गहिरो अध्ययन गरी नेपाल र नेपालीको दीर्घकालीन हितलाई गम्भीररुपमा केन्द्र बिन्दूमा राखेर मात्र नागरिकता विधेयकलाई स्वीकार गरियोस् भन्ने जोडदार माग पनि पार्टी गर्दछ । अन्यथा देश र आफ्नो हक अधिकारको रक्षाका लागि नेपाली जनताले सडकमा जानु बाहेक अरु विकल्प नरहेको प्रष्टसँग औल्याउन चाहन्छ ।