काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिगमा सुरुवाती दबदबा कायम राख्न सफल जावलाखेल युथ क्लबको लय पछिल्ला चार खेलमा बिग्रिएको छ।
गत १३ वैशाखमा हिमालयन शेर्पासँग २–१ ले पराजित भएयता जितविहीन रहेको जावलाखेल अन्ततः शुक्रबार पनि लिगको अङ्क तालिकाको पुछारमा रहेको खुमलटारसँग ४–२ ले पराजित भएसँगै पछिल्ला ४ मध्ये ३ खेलमा हार भोग्दै शीर्ष स्थानमा आफ्नो पकट गुमाउने अवस्थामा पुगेको छ।
लिगमा जावालाखेल शेर्पापछि संकटासँग १–१ गोलको बराबरीमा रोकिँदा अघिल्लो खेलमा जावलाखेल नेपाल पुलिससँग २–१ ले हारेको थियो। लगातारको खराब लयलाई निरन्तरता दिएको जावलाखेल लिग अङ्क तालिकामा चर्च ब्वाइज समान २४ अङ्क भएपनि शीर्ष स्थानमा रहेको छ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा शुक्रबार भएको खेलमा जावलाखेलमाथि एफसी खुमलटार पूर्ण रुपले हावी भयो। खुमलटारको जितमा स्टेफेन समिरले ह्याट्रिक गोल गरे। मेसुके ओलुमोउको नाममा एक गोल रह्यो। विदेशी खेलाडीको दबदबा रहेको लिगमा शुक्रबार पनि सोही लय देखिएको थियो। जावलाखेलका विनोद केसीले एक गोल फर्काए पनि टिमलाई अङ्क दिलाउनका लागि पर्याप्त रहेन।
खेलको २० औँ मिनेटमा स्टेफेनले गोलमार्फत खुमलटारले सुरुवाती अग्रता लिएको थियो। ४२ औँ मिनेटमा खुमलटारका रोहितले आत्मघाती गोल गर्दा खेल १–१ गोलको बराबरीमा आयो। तर पहिलो हाफको इन्जुरी समयमा स्टेफेनले व्यक्तिगत दोस्रो गोल गर्दै खुमलटारलाई २–१ को अग्रता दिलाउँदा दोस्रो हाफमा पनि उसले आफ्नो बलियो लयलाई कायम राख्यो।
५१ औँ मिनेटमा स्टेफेनले ह्याट्रिक पूरा गर्दा खुमलटार ३–१ ले अघि रह्यो। इन्जुरी समयको तेस्रो मिनेटमा विनोदले गोल गर्दै जावलाखेललाई ३–२ को स्थितिमा ल्याए। त्यसपछि इन्जुरी समयको पाँचौं मिनेटमा मेसुकेले गोल गर्दै खुमलटारलाई ४–२ ले अघि रह्यो।
खुमलटारको यो लिगमा पाँचौं जित हो। खुमलटारले १५ खेलमा १७ अंक जोडेको खुमलटारले लिगको रेलिगगेशन जोन तत्काललाई छाडेको छ। जारी लिगमा रेलिगेशन र शीर्ष स्थानको लडाइँ लोभलाग्दो छ।