काठमाडौँ — राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिसिल्सना कम्बोडियाको भ्रमण पूरा गरी शुक्रबार साँझ स्वदेश फिर्ता भएका छन् ।
कम्बोडियाका प्रधानमन्त्री सम्देक टेको हुनसेनको सम्मान कार्यक्रममा भाग लिएर अध्यक्ष तिमिल्सिना स्वदेश फर्किएका हुन् । उनलाई त्रिभुवन विमानस्थलमा संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतम र राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले स्वागत गरेका थिए ।
अध्यक्ष तिमिल्सिनाले एसियन कल्चरल काउन्सिल र कम्बोडियन कमिटी अन नेसनल फेस्टिभल्स एन्ड सेरेमोनिजद्वारा आयोजित कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सम्बोधन गरेका थिए । कार्यक्रममा कम्बोडियाका प्रधानमन्त्री हुनसेनलाई वल्ड बुद्धिष्ट फाउन्डेसनको पेट्रोन अफ द वर्ल्ड बुद्धिष्ट अनोररी डक्ट्रेट ईन ह्युमानिटीको मानार्थ पदवी प्रदान गरिएको थियो ।
अध्यक्ष तिमिल्सिना र कम्बोडियाका समकक्षी सिनेटका अध्यक्ष समदेक विभोलेस्ना फेकदेक चे सुमसँग भेटघाट भएको थियो । भेटघाटमा ९७ प्रतिशत बौद्धमार्गी रहेको कम्बोडिया र बुद्धजन्मस्थल लुम्बिनीलाई एकापसमा जोड्नका लागि नेपाल कम्बोडिया सिधा हवाई सेवा सुरू गर्ने र द्वन्द्वोत्तर अनुभव आदनप्रदान गर्ने विषयमा छलफल भएको थियो। अध्यक्ष तिमिल्सिनाको भ्रमण दलमा वाग्मती प्रदेशसभाका सदस्य अमन मास्के र संघीय संसद् सचिवालयका उपसचिव नुमराज खनाल थिए ।