काठमाडौं / महागढीमाई नगरपालिका–३ गन्जभवानीपुरका विनोद महरा चमारले २०७४ मा छिमेकी राधामोहन कलवारबाट १० लाख रुपैयाँमा १० धुर घडेरी खरिद गरे । ७ लाख तिरेर ३ लाख बाँकी राखी कित्ता नम्बर १२२३, १२२४ र १२३० को घडेरी राधामोहनकै नाममा अमानतमा राखे । ३ लाख बाँकीकै कारण विनोदका नाममा जग्गा पास भएन ।
एक वर्षपछि जग्गाधनी राधामोहनले बाँकी ३ लाख रकम माग्दै ताकेता गर्न थालेपछि विनोदले पचरौता नगरपालिका–७ बेनौलीका शिवजीप्रसाद साह कलवारसित १२ लाख ऋण लिए । ३ लाखको ब्याज जोडेर राधामोहनलाई फर्काए । बचेको रकम, छिमेकीसित सापट र लघुवित्तबाट ऋण लिएर विनोदले घडेरीमा पक्की घर बनाएर बस्न थाले । पछि उनले राधामोहनसित खरिद गरेको अमानतमा रहेको घडेरी भने शिवजीको नाममा २०७७ असोजमा पास गराइदिए । घडेरी पास गरेपछि विनोदले शिवजीसित थप ५ लाख ऋण लिए । यति गरेर कुल ऋण १७ लाखको साँवा/ब्याज किस्तामा तिर्न थाले । साढे २ वर्षयता किस्तामै शिवजीलाई १४ लाख तिरिसकेको विनोदको भनाइ छ । १७ लाख ऋण दिएर घडेरी नाममा गराएको बाहेक शिवजीले विनोदका ससुरा बिजुली महरासित चेकमा सही गराएर रकम लिनुका साथै खाली चेक पनि लिएका छन् । ५० लाखको तमसुक पनि बनाउन लगाएका छन् ।
घडेरीमा विनोदले पक्की घर बनाएर बस्न थालिसकेकाले शिवजीले मासिक ६ हजार घर भाडा तिर्ने गरी करारनामासमेत बनाउन लगाएका छन् । २०७७ असोज २२ मा तीन वर्षका लागि करारनामा गरिएको हो । त्यसबेला शिवजीले घडेरी आफ्नो नाममा पास गराइसकेका थिए । करारनामामा बिजुली र पानीको रकम दुवै पक्षले तिर्ने सर्त छ ।
विनोदले शिवजीलाई सकेजति साँवाको किस्ता र ब्याज तिर्दै गए । ३ हजारदेखि २ लाखसम्म गरी पटकपटक १४ लाखसम्म तिरिसकेको भर्पाई आफूसित राखेको विनोदको भनाइ छ । आफूले तिरेको साँवाब्याजको भर्पाई शिवजीले डायरीमा सहीछाप गरी बुझेर दिएको उनले बताए । ‘तर शिवजीले ब्याजको ब्याज जोड्दै गएकाले मोटो रकम पुगेपछि ६५ लाखमा घडेरी र घर बिक्री गरिदिने भन्दै धम्काउँदै आएका छन्,’ उनले भने, ‘घरमा ताला लगाइदिएका छन्, घर बिक्री गर्न अरूबाट बैना पनि लिइसकेका छन् । घरमा लगाएको तालाको साँचो उनको हातमा छ, हामी ५ जना एक वर्षदेखि सडकमा छौं ।’ घरको साँचो माग्दा शिवजीले घरी ३५ लाख, घरी ५० लाख देऊ अनि साँचो दिन्छु भन्ने गरेको विनोदले बताए । अहिले उनीहरू निजगढमा मजदुरी गरेर गुजारा चलाइरहेका छन् । शुक्रबार सन्तानसहित झोला बोकेर गाउँ पुग्दा उनको घरको मूल ढोकामा मिटरब्याजीको ताला लागिरहेको थियो ।
ऋण दिने शिवजी महागढीमाईभन्दा २० किमि दक्षिणी गाउँ बेनौलीका बासिन्दा हुन् । ‘बाँकी ऋण तिर्न तयार छौं तर घरमा बस्न दिनु भन्दा मानेका छैनन्,’ विनोदकी पत्नी संगीताले भनिन् । लेखपढ गर्न नसक्ने विनोद डकर्मी (पक्की घर बनाउने) काम गर्छन्, संगीताले भने एसएलसीसम्म पढेकी छन् । उनीहरूका २ छोरी र १ छोरा छन् । मिटरब्याजविरुद्धको उजुरी फाराम जिल्ला प्रशासन कार्यालयबाट लिएको र बिदा परेकाले प्रशासनमा उजुरी गर्न नसकेको उनले बताइन् । अब कानुनी उपचारमै जाने उनको भनाइ छ ।