काठमाडौं । पर्यटक बनाएर सुरुमा जापान पु-याउने । त्यसपछि पर्यटकलाई शरणार्थीको मान्यता दिलाइ दिने । त्यसपछि वर्क पर्मिट पनि दिलाई दिने । यो सबै गरेपछि मासिक साढे आठ लाख रुपैयाँ कमाई हुने आश्वास दिएर एक एजेन्टले काठमाडौंमै राम्रै कमाई पनि गरिरहेका एक व्यक्तिलाई नराम्ररी ठगी गर्छन् ।
वैदेशिक रोजगारीका नाममा दिनहुँ अनौठा अनौठा घटना सार्वजनिक भइरहँदा आखिर काठमाडौंकै एक सचेत युवा कसरी ठगको जालोमा परे त ? नक्कली शरणार्थी बनाएर जापान पठाउने गिरोह सक्रिय रहेको तथ्य फेला परेको छ । गिरोहको ठगिमा परेका पीडितहरु न्युज २४ टेलिभिजको कार्यलयमा पुगेका छन । लाखौँ ठगि गरेर एजेन्ट सम्पर्कविहिन भएपछि उनीहरु हाम्रो कार्यलयमा पुगेका हुन ।
सोलुखुम्बुको थुलुङ–दुधकोशी गाउँपालिकाका फुर कुमार राई काठमाडौंको चाबहिलमा रहेको होटलमा काम गर्थे । आफ्नै काकाको होटलमा राम्रै तलब सहित काम गरिरहेका थिए । यो क्रममा एजेन्ट जम्बा शेर्पासँग फुरकुमारको भेट भयो । शेर्पाले ४ लाख रुपैयाँ तलब सुविधा सहित जापानमा काम गर्ने व्यवस्था मिलाउने आश्वासन दिए । त्यसको लागि साढे ८ लाख रुपैयाँ लाग्ने शेर्पाको भनाई थियो ।
शेर्पाले यहाँबाट भिजिट भिसा पठाउने, आफूसँगै जापान जाने, शरणार्थी भिसा दिलाएपछि वर्किङ भिसा दिलाउने र चिनजानका मान्छे भएकोले काम पनि लगाइदिने शेर्पाको प्रलोभनमा राई परे । शेर्पाले भने बमोजिमका प्रक्रिया राईले पुरा गरे । ठमेलको छायाँ सेन्टर स्थिति भिएफएक्समा उनको बायोमेट्रिक पनि भयो ।
शेर्पाले भिसा आयो भनेपछि राईले पूर्वशर्त बमोजिम साढे आठ लाख नगद बुझाए । फुर कुमार जापानको हनिदा विमानस्थलमा पुगे ।
विमानस्थलका कर्मचारीले केरकार गर्न थाले । फूरकुमारलाई न जापानी भाषा आउँथ्यो । त उनका अरु कोही सहयोगी थिए । शेर्पाले ‘एक्लै जापान घुम्न आएको, मेरो कोही पनि छैन भन्नू’ भनेर सिकाएका थिए । तर जापानी अध्यागमनका कर्मचारीले फूरकुमारलाई पत्याएनन् । उनलाई विमानस्थलबाटै नेपाल फर्काइदिए । खाइपाइ आएको जागिर छाडेर, ऋणधन गरेर उनी जापान त उडे तर उनका सपना फुकुदा एअरपोर्टमै चकनाचुर भयो । फूरकुमारलाई घर न घाटको अवस्थामा पु¥याउने जम्बा शेर्पा हाम्रो सम्पर्कमा आएर रकम फिर्ता गर्ने वाचा गरेका छन् ।
नुवाकोटका अर्का यी नेमा तामाङसँग पनि जम्बाले शरणार्थी भिसामा जापान पठाइदिने भन्दै प्रलोभन देखाएका थिए । कागजी प्रक्रियाका लागि २० हजार रुपैयाँ नेमाले खर्च पनि गरे । भिसा नलागेका कारण नेता चाहिँ ठगिनबाट जोगिए ।


