जेरुसेलम / ८६ दिनदेखि भोक हडताल गरिरहेका प्यालेस्टाइनका नेता खदिर अदनानको इजरायली जेलमा मृत्यु भएको छ । उनलाई मंगलबार बेहोस अवस्थामा पाइएको र अस्पताल पुर्याए पनि बचाउन नसकिएको इजरायलको जेल सेवाले जनाएको छ ।
अदनान ‘इस्लामिक जिहाद’ समूहका वरिष्ठ सदस्य थिए, जुन समूहलाई इजरायलले आतंकवादी संगठन घोषित गरेको छ । इजरायल जेल सेवाका अनुसार उनले उपचार गराउन अस्वीकार गरेका थिए । उनको मृत्युपछि गाजा क्षेत्रबाट इजरायलतर्फ तीन हवाई आक्रमण भएको छ । आक्रमणमा मानवीय क्षति भएको छैन ।
स्लामिक जिहाद प्यालेस्टाइनको गाजा क्षेत्रमा सक्रिय समूह हो, जसले अदनानको मृत्यु जेलमा भए इजरायलले नोक्सानी व्यहोर्नुपर्ने चेतावनी दिँदै आएको थियो । ४४ वर्षीय अदनानमाथि आतंकवादी समूहमा लागेको, सर्वसाधारणलाई भड्काएको आरोपमा मुद्दा चलिरहेको थियो । उनी इजरायलको वेस्ट बैंक क्षेत्रका हुन् । यसअघि पनि पटकपटक हिरासतमा परेका थिए । उनले पाँच पटक भोक हडताल गरिसकेका थिए ।

