काठमाडौँ — फिनल्यान्डमा ‘मानव तस्करी र ठगी’ अभियोगमा एनआरएन अगुवालाई स्थानीय अदालतले सजाय सुनाएको छ । राजधानी हेलसिन्कीमा रहेको नेपाली रेस्टुराँमा दुई नेपाली कामदारलाई वर्षौंसम्म तलब, सेवा–सुविधा नदिएको र निरन्तर मानव तस्करी गरेको पुष्टि भएपछि स्थानीय जिल्ला अदालतले रेस्टुराँका नेपाली मालिकलाई क्षतिपूर्ति भराउनेसहितको सजाय सुनाएको हो ।
फिनल्यान्डमा नेपाली रेस्टुराँ प्रवर्द्धनसहित गैरआवासीय नेपाली संघको संस्थापकको हैसियतमा रहेका देवीदत्त शर्मा खरेल र उनकी श्रीमती मन्जु शर्मालाई विपक्षी बनाएर जिल्ला अदालतमा दर्ता भएको मुद्दामा शुक्रबार आएको फैसलामा दुवै पीडित कामदारका पक्षमा फैसला सुनाएको हो । दोलखा, मैनापोखरीकी तारा थापा र गुल्मी आँपचौरका दिल खरेलले दायर गरेको मुद्दामा अदालतले थापाका पक्षमा झन्डै २ करोड ४० लाख रुपैयाँ र खरेलका पक्षमा झन्डै १ करोड ८२ लाख रुपैयाँ क्षतिपूर्ति रकम भराउने आदेश दिएको हो ।
सन् ९० को दशकमा फिनल्यान्डमा नेपाली रेस्टुराँ सुरुवात गर्दै तथा गुल्मी, अघाँखाँची, बागलुङ, पाल्पासहितबाट आफन्तजनलाई ल्याएर रेस्टुराँका काममा लगाउँदै आएका देवीदत्त शर्माले नेपालबाट कामदार लैजाने ‘एजेन्ट’ सरहको काम गर्दै आएका थिए ।
गैरआवासीय नेपाली संघ, फिनल्यान्डका पूर्वअध्यक्ष शेखर आचार्यका अनुसार, फिनल्याण्डमा ५० भन्दा बढी नेपाली रेस्टुराँ रहेका छन् । औपचारिक तथ्यांकमा फिनल्यान्डमा ३५ सय नेपाली रहेको भनिए पनि यो संख्या ५ हजारसम्म रहेको हुन सक्ने देखिएको छ । फिनल्यान्डको कूटनीतिक सहप्रमाणीकरण मामला डेनमार्कस्थित नेपाली दूतावासले हेर्दै आएको छ ।
सर्तमा मासिक १२ सय युरो तलब दिने भनिए पनि त्यो कागजी रकम मात्रै रहेको ताराले पछि थाहा पाएकी थिइन् । सुरुमा घरेलु काम मात्रै भनिए पनि केहीपछि देवीदत्तले उनकै रेस्टुराँमा समेत काममा लगाएको र दिनरात नभनी वा साताको छुट्टी केही नभनी काममा खटिएपछि आफू बहुलाउन मात्रै नसकेको ताराले सुनाइन् । ‘मेरैजस्तो हालत अरुको पनि थियो, तर कामबाट निस्कनुपर्ला भनेर बोल्न सक्ने कोही थिएन,’ताराले ती दिन सम्झिन् ।
आफूले दायर गरेको मुद्दाको गत शुक्रबार सुनुवाइ भएको थाहा पाएपछि र आफूले पहिलो चरणको न्याय पाएको बोध गरेपछि ताराले सोमबार फोनमै सुनाइन्, ‘अहिले पनि मजस्ता पीडित र माव तस्करीको फन्दामा पर्ने दाजुबहिनीहरू फिनल्यान्डमा धेरै छन्, उनीहरू धेरैजसो आफ्नै नातेदारको घेरामा बसेका छन् । ती धेरैजसो रेस्टुराँभित्रका काममा बँधुवा मजदुरजस्तै बसेका छन् । म अब ती सबैका लागि पनि बोल्न तयार छु । अब दबिएर बस्ने होइन, आफ्नो न्याय र अधिकारका लागि अघि आउनुपर्छ ।’
यसअघि, मानव तस्करी र ठगीसहितको प्रकरणमा अदालती फैसलापछि फिनल्यान्डको तामपेरे सहरको कारागारमा डिलाराम र रिमा सापकोटा दम्पती गत डिसेम्बरदेखि ३ वर्ष ८ महिनाको थुनामा परिसकेका छन् । सापकोटा दम्पतीले तामपेरे सहरमा रहेको आफ्नै रेस्टुराँमा नेपाली कामदार ल्याएर बन्धक बनाएको उजुरी परेपछि गरिएको छानबिनमा जेल सजाय सुनाइएको थियो ।


