पेरिस — लामो समयदेखि पासपोर्टविहीन दुई हजार तीन सय आठ जना नेपालीको इलेक्ट्रोनिक बायोमेट्रिक पासपोर्टको आवेदन प्रक्रिया पूरा भएको छ । पासपोर्टकै कारण विभिन्न समस्या झेलेका नेपालीका लागि सहजीकरण गर्न खटिएको परराष्ट्र मन्त्रालयसहितको टोलीले पोर्चुगलको लिस्बन सहरमा पासपोर्ट दिने प्रक्रिया गत मार्च २९ देखि सुरु गरेको थियो ।
अप्रिल २९ सम्ममा दुई हजार तीन सय आठ जनाको प्रक्रिया पूरा भएको र त्यसबाट करिब तीन लाख ६५ हजार युरो राजस्व संकलन भएको जानकारी पोर्चुगलका लागि गैरआवासीय राजदूतसमेत रहेका फ्रान्सका लागि नेपाली राजदूत दीपक अधिकारीले कान्तिपुरलाई दिए । पासपोर्टका लागि प्रक्रिया पूरा गरेकाहरुको पासपोर्ट बनेर आएपछि घरघरै वितरण गरिनेछ । प्रक्रिया पूरा गरेका मध्ये पासपोर्ट नै नभएका वा हराएका समेतको संख्या ७ सय ५२ छ । म्याद सकिएका वा सकिन लागेकामा एक हजार चार सय ३६ जनाले आवेदन दिएका छन् । १३ जना बालबालिकाका लागि पहिलो पटक राहदानी प्रक्रिया पूरा भएको छ । ती पोर्चुगलमै जन्मिएका वा नेपालमा जन्मिएर पोर्चुगल आइपुगेका बालबालिका हुन् ।
टोलीले कुल ७६ जना बालबालिकाको नवीकरण गरेको छ । पासपोर्टका लागि आवेदन दिने सबैको संख्या जोड्दा दुई हजार तीन सय आठ पुगेको हो ।
टोलीले शनिबारबाहेक अन्य दिन राहदानीको काम गरेको थियो । यो टोलीका लागि स्वयंसेवक वाणिज्य दूतावासले खटाएको थियो । त्यसमा एनआरएनए पोर्चुगल र केही संस्थाले सहयोग गरेका थिए । ‘सात सय ५२ जनाको पासपोर्ट नै थिएन । उहाँहरुलाई विशेष राहत पुगेको हामीले महसुस गरेका छौं । किनभने पासपोर्टबिना कुनै प्रक्रिया अगाडि बढ्दैन र त्यो देशबाट बाहिर जान पनि नसकिने हुनाले उहाँहरु अप्ठेरोमा हुनुहुन्थ्यो भन्ने हाम्रो बुझाइ हो,’ राजदूत अधिकारीले भने । यो प्रक्रियाका लागि परराष्ट्र मन्त्रालय र राहदानी विभागबाट एक–एक जना र पेरिसस्थित नेपाली दूतावासबाट एक जना कर्मचारी खटिएका थिए । एउटा मात्रै राहदानी किट पासपोर्ट सिफारिस प्रक्रियाका लागि अपुग देखिएपछि स्पेनस्थित नेपाली दूतावासले आफ्नो पासपोर्ट किट पठाएर सहयोग गरेको थियो ।
बिनापासपोर्ट कुनै मुलुकमा पुगे पनि बाँकी प्रक्रियाका लागि कठिन हुने र महँगो, प्राविधिक रूपमा झन्झटिलो र व्यवस्थापकीय हिसाबले पनि कठिन पासपोर्ट वितरण गर्न सहज नहुनाले नेपालीहरुले आफू र आफ्नो पासपोर्ट जतन गर्नुपर्ने सुझाव अधिकारीहरुले दिएका छन् । ‘कुनै पनि गन्तव्यमा शिक्षा र रोजगारीका लागि जान पाउनु सबैको अधिकार हो । तर जहाँ गए पनि पासपोर्टबिना कुनै काम गर्न कठिन हुन्छ । त्यसैले कम्तीमा आफ्नो ज्यान र राहदानी जोगाउनेबारे नेपालीहरुले विशेष ध्यान दिनुपर्ने देखिएको छ । यति झन्झटिलो, महँगो र प्राविधिक रूपले पनि कठिन प्रक्रिया पूरा गरेर सरकारले सधैं पासपोर्ट वितरण टोली कसरी खटाउन सक्ला र ?’ अधिकारीको भनाइ छ ।

