गुल्मी। रेसुङ्गा विमानस्थलमा शुक्रबार परीक्षण उडान गरिएको छ।
रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज बिहान ७ बजेर ३९ मिनेटमा अवतरण भएको हो।
निगम र रेसुङ्गा नगरपालिकाबीच सम्झौता भएपछि व्यावसायिक उडानका लागि निगमले आज परीक्षण उडान गरेको हो। २०६३ सालमा निर्माण सुरु गरिएको विमानस्थल १६ वर्षपछि सम्पन्न भएको हो। कुल ३३ करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको विमानस्थलको लम्बाइ ५२० मिटर र चौडाइ २० मिटर छ। एक सय ५६ रोपनी क्षेत्रफलमा फैलिएको रेसुङ्गा विमानस्थल समुद्र सतहदेखि एक हजार ५२६ मिटरको उचाइमा छ।
आजको उडानपछि व्यावसायिक उडान गर्ने योजना रहेको वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेलले जानकारी दिए। प्राविधिक टोलीले सबै कुराको जानकारी लिएपछि निगमले व्यावसायिक उडान थाल्ने उनको भनाइ छ। कति यात्रु बोक्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेपछि मात्र भाडादर निर्धारण गरिने उनले बताए। ‘रेसुङ्गा– काठमाडौं उडानको भाडा अहिले प्रतिव्यक्ति सरदर छ हजार ५०० हुने भनिए पनि अन्तिममा छ हजारसम्म कायम हुनसक्छ’, उनले भने।
निगमका क्याप्टेन मनिष विष्टले एक साताभित्र नागरिक उड्ययन प्राधिकरणलाई आजको उडान प्रतिवेदन बुझाएपछि नियमित उडान हुने बताए। रेसुङ्गा विमानस्थलमा यसअघि २०७५ जेठ २५ गते पनि परीक्षण उडान गरिएको थियो।
लामो समयपछि जहाज चढेर काठमाडौँ जाने गुल्मीवासीको सपना अब चाँडै साकार हुने रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए।


