काठमाडौं-सहिद स्मारक ए डिभिजन लिग फुटबलमा मनाङले लगातार तेस्रो खेलमा हार ब्योहोरेको छ। मंगलबार दशरथ रङ्गशालामा भएको दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले १-० को जित निकाल्दै चौंथो स्थानमा उक्लियो। त्यसअघि दिनको पहिलो खेलमा एनआरटीले खुमलटारलाई ३-१ ले पराजित गर्दै लिगमा दोस्रो जित निकाल्यो।
एनआरटीले दशौं चरणमा दोस्रो जित निकाल्दै अङ्क तालिका सुधार गरेको छ। एनआरटीले १० खेलको समाप्ती २ जित सहित ४ बराबरी र ४ हार भोगेको छ। एनआरटिकव जितमा सरोज तामाङ, सञ्जिब विष्ट र मोहित गुरूङले समान १-१ गोल गरका थिए। खुमलटारका लागि श्यामु मुर्मुले एक गोल फर्काएका थिए।
त्यस्तै दिनको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले मनाङ मर्स्याङ्दी क्लबलाई १-० ले पराजित गर्दै लिगमा चौंथो जित निकाल्यो। जितसँगै आर्मी १५ अङ्कका साथ चौंथो स्थानमा उक्लिंदा मनाङ भने लगातार तेस्रो हारसँगै पाँचौ स्थानमा धकेलियो। सातौं चरण सम्म अपराजित रहेको मनाङ त्यसयता भने निरन्तर पराजित हुँदै आएको छ।
अधिकांस समय गोलरहित बराबरी उन्मुख खेलमा आर्मीले ७५औं मिनेटमा सुदिल राईको गोलमार्फत खेलमा अग्रता लिएको थियो। जगजित श्रेष्ठको फ्रिकिकलाई मनाङका डिफेन्डर जीवन गुरुङले ६ यार्ड बक्सभित्र क्लियर गर्न नसकेको बललाई सुदिलले गोलमा परिणत गरेका थिए। तुलनात्मक रुपमा मनाङमाथि आर्मीले दबाब बढाएको खेलमा मनाङले पाएका केहि सिमित मौकामा गोल गर्न सकेन।