बुटवल । रुपन्देहीको सैनामैनामा झारफुकको नाममा चरम यातना दिएर बालिकाको मृत्यु भएपछि उक्त घटनामा संलग्न एक जनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
गत फागुन २० गते सैनामैना १० फुलबारी टोलकी १४ वर्षीया सीता ज्ञवालीको झारफुकका नाममा दिएको चरम यातनापछि मृत्यु भएको थियो । झारफुकबाट बालिकाको मृत्यु भएपछि माता भनिने महिलासहित १८ जना पक्राउ परेका थिए ।
उक्त मुद्दामा भएको सुनुवाइपछि जिल्ला अदालत रुपन्देहीको आदेशमा माता भनिने सोनिया रेश्मी थापालाई पुर्पक्षका लागि जेल चलान गरेको छ । अरु १७ जनालाई धरौटी र साधारण तारेखमा छोडिएको रुपन्देही प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।
प्रहरीले उक्त घटनामा प्रत्यक्ष संलग्न रहेकी माता भनिने सोनियासहित बाबु तारा ज्ञवाली र आमा लिला छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
बालिका सीताको २० गते राति मृत्यु भएको र राति नै कपिलवस्तुको लक्ष्मणघाटमा लगि दाहसंस्कार गरेका थिए । सोनिया रेश्मीले झारफुक गर्ने भन्दै चरम यातना दिएको भिडियो फागुन २१ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो ।
ईलाका प्रहरी कार्यालय सालझण्डीका अनुसार बालिकाका बुबा तारा, आमा लीला, भिडिओ खिच्ने ईश्वरी ज्ञवाली र अटोमा माताकहाँ लिएर जाने निमकला पाण्डे ५० हजार धरौटीमा रिहा भएका छन् । अन्य १३ जना भने साधारण तारेखमा छुटेको प्रहरी प्रवक्ता अर्यालले बताए ।