एजेन्सी । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल शराब घोटाला मुद्दामा पक्राउ पर्नसक्ने चर्चा शुरू भएको छ ।
शराब घोटाला मुद्दामा यसअघि दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदिया पक्राउ परिसकेका छन् ।
सीबीआईले घोटालाका विषयमा मुख्यमन्त्री केजरीवालसँग आइतवार ९ घण्टा बयान लिएको छ । केजरीवाललाई ५६ प्रश्न गरिएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शराब घोटालामा मुछिएका व्यापारीसँग मुख्यमन्त्री केजरीवालले भिडियो कल गरेको पाइएपछि उनी पनि अनुसन्धानको घेरामा परेका हुन् । यससँगै उनी पक्राउ पर्नसक्ने चर्चा पनि भारतीय सञ्चारमाध्यममा शुरू भएको छ ।
सीबीआईलाई बयान दिएपछि केजरीवालले भनेका छन्, ‘मलाई ५६ पूश्न सोधियो । मैले सबै प्रश्नको जवाफ दिएँ । जसरी पहिला पनि भनिसकेको छु, हामीसँग लुकाउनुपर्ने केही छैन । यो पूरै शराब घोटाला फर्जी र घटिया राजनीतिबाट प्रेरित छ । हामी मर्नेछौं तर इमान्दारितासँग सम्झौता गर्ने छैनौं ।’
उनी सीबीआईको बयानमा रहेकै बेला आम आदमी पार्टी ९आप० ले पक्राउ पर्नसक्ने शंका गरेको थियो । त्यसैले रातिसम्म पार्टी कार्यालयमा आकस्मिक बैठक बसेको थियो तर बयानपछि उनलाई छाडियो । भारतीय कानूनअनुसार बहालवाला मुख्यमन्त्रीलाई पक्राउ गर्न सजिलो भने छैन ।
कानूनअनुसार प्रधानमन्त्री, केन्द्रीय मन्त्री, लोकसभा र राज्यसभा सदस्य, मुख्यमन्त्री, विधानसभा र विधान परिषद् सदस्यलाई गिरफ्तारीबाट छुट मिलेको छ तर सिभिल मुद्दामा मात्रै । आपराधिक मुद्दामा सबैलाई पक्राउ गर्न सकिने प्रावधान छ ।
यस्ता व्यक्ति सभाका सदस्य समेत हुने भएकाले पक्राउ गर्नुअघि अध्यक्ष र सभापतिबाट अनुमति लिनुपर्ने वा जानकारी दिनुपर्ने प्रावधान समेत छ ।
दिल्लीमा सरकार नियन्त्रित शराब कारोबारको नीति बनाउँदा घोटाला भएको आरोप लगाउँदै सीबीआईले अनुसन्धान गरिरहेको छ । घोटालामा मुख्यमन्त्री केजरीवाल पनि छानबिनको दायरामा आएका छन् ।