काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजीपीडित र लघुवित्तपीडितमाथि गरिएको दमनबारे संसद्लार्ई तत्काल जानकारी गराउन सरकारसँग माग गरेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री नारायणकाजी श्रेष्ठले संसद्मा आएर मिटरब्याजीपीडित र लघुवित्तपीडितमाथि प्रहरीले लाठी प्रहारसहितको दमन गर्नुको कारणबारे जवाफ दिनुपर्ने उनको माग छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा सांसद सुवालले सरकारले संविधानमा उल्लेख वाक् स्वतन्त्रता र शान्तिपूर्ण रूपमा भेला हुन पाउने हकको हनन् हुने गरी प्रहरीमार्फत लाठी प्रहार गर्न लगाएको भन्दै त्यसो नगर्न सचेत गराए । उनले मिटरब्याजीपीडित र लघुवित्तपीडितको माग तत्काल सम्बोधन गर्न आग्रह गरे ।
“काठमाडौं रत्नपार्कमा भेला भएका मिटरब्याजपीडित र इनरुवामा भेला भएका लघुवित्त ऋणपीडित जनतामाथि लाठी प्रहार र दमन गरेको संविधानमा उल्लेख वाक् स्वतन्त्रता र शान्तिपूर्ण भेला हुने हकको हनन् हो,” उनले भने, “जनताको शान्तिपूर्ण भेलामा पनि भएको लाठी प्रहारबारे प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्मा स्पष्ट गर्न लगाउनु आवश्यक छ ।
मिटरब्याजपीडित र लघुवित्त ऋणपीडित जनताको माग पूरा गर्न जरुरी छ ।” सांसद सुवालले पीडित जनताको माग सम्बोधन गर्न सरकार गम्भीर नभएको पनि दोहोर्याए ।