काठमाडाैं । श्रमजीवी, साना र मझौला किसान लगायत आम किसानहरुलाई अक्करमा पारेर अवैधरुपमा अत्याधिक रकम असुल्ने र किसानको जायजेथाबाट उनीहरुलाई उठिबास् गराउने अत्यन्तै अमानवीय र अत्याधिक चर्को शोषणको भुवँरीमा पार्ने मिटर ब्याजे शोषक साहु र लघुवित्त जस्ता वित्तीय शोषकहरुबाट किसानलाई मुक्त गर्न उच्च स्तरीय, अधिकार सम्पन्न शक्तिशाली आयोग गठन गर र त्यस्ता अपराधी शोषकहरुको पञ्जाबाट किसानलाई तत्काल मुक्त गर्न, जायजेथा कब्जा गर्ने अवाञ्छित र अपराधिक स्थितिबाट किसानहरुलाई तत्काल जोगाउन तथा हडप गरिएको किसानको जमिन र जायजेथा हर्जानासहित फिर्ता गराउन, त्यस्ता अवैध कारोबार गर्ने मिटरब्याजी र लघुवित्तका शोषकहरुलाई पक्राउ गरी कडा दण्डसजाय गर्न, जाली र कीर्ते तमसुक तत्काल रद्द गर्न, झूटा मूद्दा खडा गरी पक्राउ गरिएका किसानहरुलाई तत्काल बिनाशर्त रिहाइ गर्न लगायत सम्पूर्ण समस्याको निराकरण गर्ने अधिकार त्यस्तो आयोगलाई प्रदान गर, किसानका लागि सुविधाजनक, सहुलियतपूर्ण ऋण दिने प्रभावकारी र दीगो वैकल्पिक ब्यवस्था गर भन्दै हामी ६ किसान संगठनहरु अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र), अखिल नेपाल किसान महासंघ, अखिल नेपाल किसन महासंघ (अप्फा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन तथा अखिल नेपाल प्रगतिशील किसान संघ नेपाल सरकारसँग जोडदार माग गर्दछौं ।
मिटर ब्याजे ठगी र लघु बित्ते ठगीका बिरुदध्द संघर्ष गरिरहेका सम्पूर्ण संघर्षशील किसानहरुको संघर्षप्रति हामी दृढतर ऐक्यबद्धता जनाउँदछौ ।
कुनै किसिमको टालमटोल र छलछाम नगरी पीडित किसानको हित हुने गरी तत्कालीन र दीर्घकालीन ठोस कदम उठाउन सरकारसँग पुनः हामी जोडदार माग गर्दै किसानको जीवन र जीविकाको रक्षा गर, किसानको वर्तमान र भविष्य सुनिश्चित् गर भन्ने समेत पुनः जोडदार आग्रह गर्दछौं । अन्यथा हामी पीडित किसानका यी समस्या लगायत हामीले सरकार समक्ष प्रस्तुत गरेका ५९ बूँदे मागसहित तत्काल संघर्षमा उत्रिन बाध्य हुनेछौं र त्यसको निम्ति सरकार नै जिम्मेवार हुनु पर्ने कुरा पनि प्रष्ट पार्दछौं । सम्पूर्ण किसानमा संघर्षशील अभिवादनकासाथ !