सुडानको राजधानी खार्तुममा हिजोदेखि जारी विद्रोही अर्धसैनिक बल र्यापिड सपोर्ट फोर्स (आरएसएफ) र सरकारी सेनाबीचको झडपमा कम्तीमा ५६ जनाले ज्यान गुमाएका छन् भने करिब छ सय जना घाइते भएका छन्।
आइतबार बिहान पनि झडप भएको बताइएको छ।
विद्रोही समूह आरएसएफले राष्ट्रपतिको कार्यालय, खार्तुम विमानस्थल, सरकारी टेलिभिजन र अन्य महत्त्वपूर्ण स्थान आफ्नो नियन्त्रणमा रहेको दाबी गरेपछि खार्तुमका सुनसान सडकमा लगातार विस्फोट र बन्दुक पड्केको आवाज सुनिएको छ।
सरकारी सेनाले विद्रोहीका दाबीलाई अस्वीकार गर्दै आएसएफका आधार क्षेत्रमा हवाई हमला जारी राखेको बताएको छ। सुडानी वायु सेनाले नागरिकहरूलाई घरभित्रै बस्न आग्रह गरेको छ।
प्रजातन्त्र समर्थक स्वतन्त्र चिकित्सकहरूको समूहले ५६ जना नागरिकका साथै कैयौँ सुरक्षाकर्मीको मृत्यु भएको तथा छ सय जना घाइते भएका बताएको छ।
दोहोरो झडपका कारण आवतजावतमा कठिनाइ भएकाले धेरै घाइतेलाई अस्पताल पुर्याउन नसकिएको जानकारी दिँदै सुडानी डाक्टरको समूहले मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ।
कमजोर समुदायलाई खाद्य सहायता प्रदान गर्ने राष्ट्रसंघीय निकाय विश्व खाद्य कार्यक्रमका तीन जना कर्मचारी पनि मारिएका छन्। पश्चिम सुडानको कब्कावियामा रहेको सैन्य आधार शिविरमा भएको झडपमा उनीहरूको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।
बेलायत, अमेरिका, युरोपेली सङ्घ, रुस र चीनले तत्काल युद्ध अन्त्यको आह्वान गरेका छन्। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले सैनिक जनरल बुरहान र आरएसएफका जनरल मोहमद हमदान डगालोसँग टेलिफोनमा कुरा गर्दै अविलम्ब हिंसा अन्त्य गर्न आग्रह गरेका छन्।
खार्तुमस्थित अमेरिकी राजदूत जोन गोडफ्रेले गोलाबारी र विष्फोटको आवाजबाट ब्युझिँएको बताउँदै सर्वसाधारण सुडानीलेझै आफू पनि दूतावासका कर्मचारीसँग सुरक्षित स्थानमा आश्रय लिइरहेको बताएका छन्। रासस