काठमाडौँ । नेपाली कांग्रेसमा मन्त्री भागबण्डाले निम्त्याएको विवाद साम्य भएको छ । पार्टीभित्र मन्त्री भागबण्डामा शेखर कोइराला–गगन थापा पक्षले ३३ प्रतिशत हिस्सा पाएपछि विवाद किनारा लागेको हो ।
नेता कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका आफू पक्षीय सांसदहरूको बैठकमा उनीहरुले तीन मन्त्री र एक राज्यमन्त्री पाउने ब्रिफिङ गरेका कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताए ।
यस्तै नेता दीपक गिरिले मापदण्डका आधारमा मन्त्री छनोट गरी सभापतिलाई बुझाउने सहमति बैठकमा भएको बताए । उनले भने, ‘मन्त्री छनोटको मापदण्ड बनाउने कुरा भएको छ । पदाधिकारी मात्र पठाउने वा प्रदेश र समुदायको प्रतिनिधित्व गराउने भन्ने विषयमा छलफल भयो ।’
प्रधानमन्त्री प्रचण्ड कांग्रेसलाई ९ मन्त्री र एक राज्यमन्त्री दिन तयार भएपछि शेखर–गगन समूहलाई तीन मन्त्री दिन सभापति देउवालाई केही सहज भएको देखिन्छ । कांग्रेस सहमहामन्त्री पाण्डेका अनुसार सत्ता गठबन्धनमा कांग्रेसले थप एक मन्त्रालय पाउने शेखर कोइरालाको पनि आशय थियो ।
सत्ता गठबन्धनमा यसअघि कांग्रेसले ८ मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको थियो । जनमत पार्टी सरकारबाट बाहिरिएपछि कांग्रेसको भागमा एक मन्त्रालय थपिएको छ ।
बाँकी मन्त्रालयमा नेता एनपी साउद र मोहन बस्नेतलाई मन्त्री बनाउने देउवाको तयारी छ । शेखर–गगन समूहबाट उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे, जीवन परियार, दिपक गिरी, डिगबहादुर लिम्बु, सुरेन्द्र आचार्यको नाम मन्त्रीका लागि चर्चामा छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नेता प्रदीप पौडेललाई मन्त्री बनाउन लबिङ गरेको कांग्रेस वृत्तमा चर्चा छ ।
सह–महामन्त्री पाण्डेले मन्त्री कसलाई बनाउने भन्ने विषयमा बिहीबारको बैठकमा कुनै निर्णय नभएको बताए । आफू पक्षीय सांसदसँगको छलफलपछि बिहीबार नै शेखर कोइराला सभापति देउवालाई भेट्न धुम्बाराही पुगेका थिए ।
सभापति देउवा र नेता कोइरालाबीच छुट्टै मन्त्रीको नाम प्रधानमन्त्रीलाई बुझाउन सहमति भएको छ । सभापति देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने, ‘अब चाँडै मन्त्रीको नाम सिफारिस गर्छौँ । उता (शेखर–गगन समूह) पनि मन्त्री बन्नेको नाम आउलाजस्तो छ ।’