काठमाडौं। नेकपा एकीकृत समाजवादीको सबै संसदीय विषयगत समितिमा प्रतिनिधित्व नहुने भएको छ ।
संघीय संसद सचिवालय संसदीय विषयगत समिति गठनमा केन्द्रित भएको छ । राजनीतिक दलहरुले आफ्ना कुन सांसद कुन समितिमा रहने भनी तय गर्दैछन् । यही क्रममा नेकपा एकीकृत समाजवादीले पनि आफ्नो पार्टीका कुन सांसद कुन समितिमा रहने भनी तय गर्दैछ ।
तर, सांसद संख्याका कारण एकीकृत समाजवादीको सबै संसदीय विषयगत समितिमा प्रतिनिधित्व असम्भव भएको हो । प्रतिनिधिसभामा १० वटा विषयगत समिति छ ।
राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त समिति २ वटा छन् । संयुक्त समितिमा विषयगत समितिमा रहेका सांसद पनि रहने अभ्यास छ । तर, एउटै सांसद दुई वटा संसदीय विषयगत समितिमा रहन पाउँदैनन् ।