काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिडियाले आफूप्रति तिक्तता नराखिदिओस् भन्ने आग्रह गरेका छन्।
समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई पार्टीको सदस्यतासहित सांसद पदबाटै हटाउने निर्णयबारे जानकारी गराउने पत्रकार सम्मेलनमा सभापति लामिछानेले भने- ‘मैले कुनै समय १२ भाइ भनेको आधारमा मिडियाले मप्रति प्रतिशोध नलिइदिओस्। म त्यो फेजबाट अगाडि बढिसकेँ।’
उनले ढाकाकुमारले पार्टीसँग बार्गेनिङ गरेको र आफू सिद्धिए पार्टी नै सिद्ध्याउने भनेको पनि पत्रकारसम्मेलनका क्रममा बताएका थिए।
बाहिरिएको अडियो ढाकाकुमार श्रेष्ठकै रहेको ठहर गर्दै रास्वपाले बुधबार उनलाई पार्टीको साधारण सदस्यसहित सांसद पदबाटै हटाएको हो।
रास्वपा केन्द्रीय समितिको बुधबार बसेको बैठकले उनलाई सांसदसहित पार्टीको सदस्यबाट हटाउने निर्णय गरेको सभापति रवि लामिछानेले पत्रकार सम्मेलनमार्फत बताएका छन्।