कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरस्थित निर्माण भएको महाकाली सिँचाइ नहरमा परीक्षणपछि पानी आउन सकेको छैन । सिँचाइ आयोजना कार्यालयले तेस्रो चरणमा गत असारमा २८ किलोमिटर मूल नहरमा पानी परीक्षण गरेको थियो ।
टनकपुर ब्यारेजबाट नेपाल–भारत सीमासम्म एक हजार दुई सय मिटर मूल नहर भारतीय पक्षले निर्माण सम्पन्न गरी तयारी अवस्थामा राखेको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका बेला दुवै देशका प्रधानमन्त्रीले अनलाइनबाट संयुक्त रूपमा नहरको उद्घाटन गर्ने कार्यक्रम तय भए पनि कोरोना सङ्क्रमण बढेपछि उद्घाटन स्थगित भएको थियो ।
आयोजना कार्यालयका अनुसार मूल नहरमा पानी सञ्चालनमा आए किसानको खेतसम्म पानी पुर्याउन समस्या हुने छैन । महाकाली सन्धिअनुसार टनकपुर ब्यारेजबाट नेपालले सिँचाइका लागि बर्खायाममा एक हजार क्युसेक र हिउँदमा तीन सय क्युसेक पानी पाउने उल्लेख छ । RSS