काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले काठमाडौं महानगरपालिकाले सिंहदरबार लगायत क्षेत्रको फोहोर नउठाउनु अराजकता भएको बताएका छन् । काठमाडौंका मेयर बालेन्द्र शाहले आफूलाई सिंहदरबारले असहयोग गरेको भन्दै सिंहदरबार क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएका थिए । करिब एक सातायता फोहोर उठेको छैन ।
नेता कोइरालाले मेयर बालेनको त्यस्तो कदमलाई अराजकताको संज्ञा दिएका हुन् । उनले जिम्मेवार निकायको यस्तो व्यवहारको सबैले विरोध गर्नुपर्ने बताए ।
उनले महानगरले विभिन्न प्रश्न उठाएर फोहोर नउठाउने सर्त राख्दा सिंहदरबारले पनि उसैगरी धम्कीको भाषा प्रयोग गर्नु गलत हुने बताएका छन् । ‘सरकारले पनि महानगरले उठाएका प्रश्नको बेवास्ता गर्दै धम्कीको भाषा प्रयोग गर्नु सिंहदरबारले स्थानीय निकायलाई हेर्ने दृष्टिकोणको प्रतिबिम्ब हो। महानगर र सरकार दुवै सच्चिनु पर्छ,’ उनले भनेका छन् ।